Technology Khabar १ बैशाख २०८२, सोमबार
काठमाडौं ।
ओपनएआईका सह-संस्थापक तथा पूर्व प्रमुख वैज्ञानिक इल्या सुट्स्केभरको नेतृत्वमा रहेको एआई स्टार्टअप सेफ सुपरइन्टेलिजेन्स (एसएसआई) को मूल्यांकन हालै ३२ अर्ब डलर पुगेको फाइनान्सियल टाइम्सले जनाएको छ। कम्पनीले यस चरणमा थप २ अर्ब डलर लगानी संकलन गरेको बताइएको छ।
यसअघि नै एसएसआईले १ अर्ब डलर लगानी संकलन गरिसकेको थियो भने थप १ अर्ब डलरको अर्को चरणको लगानी प्रक्रिया अघि बढिरहेको रिपोर्टहरू आएका थिए। पछिल्लो लगानी चरण ग्रीनओक्सको नेतृत्वमा भएको बताइएको छ, यद्यपि SSI ले यसबारे कुनै टिप्पणी नगरेको टेकक्रञ्चले उल्लेख गरेको छ।
सुट्स्केभरले मे २०२४ मा ओपनएआई छाडेका थिए। उनी सीईओ साम अल्टम्यानलाई हटाउने प्रयासमा संलग्न रहेको बताइएको थियो, जुन प्रयास अन्ततः असफल भएको थियो। एसएसआई सुट्स्केभरले डेनियल ग्रस र डेनियल लेभीसँग मिलेर स्थापना गरेका हुन्। उनीहरूले कम्पनीको उद्देश्य “एक मात्र लक्ष्य र एक मात्र उत्पादन: सुरक्षित सुपर इन्टेलिजेन्स” रहेको बताएका छन्।
उक्त उत्पादन अझै विकासको चरणमा रहेको मानिन्छ। एसएसआईको वेबसाइट हाल मिशन स्टेटमेन्ट मात्र उल्लेख गरिएको एक साधारण पृष्ठको रूपमा रहेको छ।
प्रकाशित: १ बैशाख २०८२, सोमबार