ग्रोकलाई प्रशिक्षण दिन ईयूको व्यक्तिगत डाटा दुरुपयोग गरेको भन्दै आयरल्याण्डको नियामकद्वारा एक्समाथि छानबिन

Technology Khabar १ बैशाख २०८२, सोमबार

काठमाडौं ।

आयरल्यान्डको डाटा नियामक निकायले शुक्रबार युरोपेली संघ (ईयू) का प्रयोगकर्ताबाट सङ्कलित व्यक्तिगत डेटा प्रयोग गरी आफ्नो एआई प्रणाली “ग्रोक” को प्रशिक्षण गरेको विषयमा सामाजिक सञ्जाल प्लेटफर्म एक्स विरुद्ध अनुसन्धान सुरु गरेको जनाएको छ।

आयरल्यान्डको डाटा प्रोटेक्शन कमिशन (डीपीसी) एक्सको ईयू मुख्यालय आयरल्यान्डमा रहेको कारणले ईयूभित्रको प्रमुख नियामक हो। डीपीसीले युरोपेली संघको कडा जेनेरल डाटा प्रोटेक्शन रेगुलेशन (जीडीपीआर) अन्तर्गत कुनै पनि कम्पनीको विश्वव्यापी आम्दानीको ४ प्रतिशतसम्म जरिवाना गर्न सक्ने अधिकार राख्ने रोयटर्सले उल्लेख गरेको छ।

डीपीसी ले सार्वजनिक रूपमा उपलब्ध एक्समा ईयू/ईएफए प्रयोगकर्ताले पोस्ट गरेका सामग्रीहरूको प्रयोग जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल प्रशिक्षणका लागि गरिएको विषयमा डेटा प्रशोधनको अनुसन्धान गरिने बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रशासनका अन्य सदस्यहरूले ईयू द्वारा अमेरिकी कम्पनीहरूमा लगाइएका नियमनको आलोचना गर्दै ईयूले लगाएका जरिवानालाई करको रूपमा व्याख्या गरेका छन्।

एक्स का मालिक एलन मस्क, जो विश्वकै सबैभन्दा धनी व्यक्ति र ट्रम्पका प्रमुख सल्लाहकार पनि हुन्, उनी पनि ईयू द्वारा अनलाइन सामग्रीमाथि लगाइएका नियमहरूको विरोधमा छन्।

यो निर्णय गत वर्षको एउटा अदालत मामिलापछि आएको हो, जहाँ आयरिस नियामकले एक्स लाई ईयू प्रयोगकर्ताको व्यक्तिगत डेटा प्रयोग गरेर एआई विकास गर्न रोक लगाउने आदेशको माग गरेको थियो।

त्यसपछि एक्सले ईयू प्रयोगकर्ताबाट स्वीकृति फिर्ता लिने विकल्प नदिइन्जेलसम्मको व्यक्तिगत डाटा प्रयोग गरी एआई प्रशिक्षण नगर्ने प्रतिबद्धता जनाएको थियो। त्यसको केही हप्तापछि आयरिस नियामकले अदालत प्रक्रिया अन्त्य गरेको थियो, एक्सले ती सीमाहरू स्थायी रूपमा स्वीकारेपछि।

सन् २०१८ पछि अधिकार प्राप्त आयरिस नियामकले माइक्रोसफ्टको लिंक्डइन, टिकटक र मेटाजस्ता कम्पनीहरूलाई जरिवाना गरिसकेको छ। मेटामाथि मात्र अहिलेसम्म लगभग ३ अर्ब युरो जरिवाना गरिएको छ।

एक्स (पहिलेको ट्विटर) ले सन् २०२० मा ४५०,००० युरो (करिब ५११,००० डलर) जरिवाना पाएको थियो, जुन जीडीपीआर अन्तर्गत डीपीसी द्वारा लगाइएको पहिलो जरिवाना थियो। त्यसयता एक्स ले कुनै थप सजाय भोगेको छैन।

प्रकाशित: १ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया