Technology Khabar १ बैशाख २०८२, सोमबार
काठमाडौं ।
नेटफ्लिक्सले ओपनएआईबाट सञ्चालित नयाँ सर्च फिचर परीक्षण गर्न थालेको छ जसले प्रयोगकर्ताहरूलाई हेर्न मिल्ने फिल्म र शोहरू खोज्न सहयोग पुर्याउनेछ। ब्लूमबर्गको रिपोर्ट अनुसार स्ट्रिमिङ सेवाले अष्ट्रेलिया र न्युजिल्यान्डका सीमित प्रयोगकर्तालाई यो उपकरण प्रयोग गर्ने सुविधा दिएको छ।
यो फिचरले प्रयोगकर्तालाई कुनै विशेष शोको नाम, कलाकारको नाम वा हेर्न चाहेको विधा बाहेकका शब्दहरू प्रयोग गरेर पनि खोजी गर्न मिल्ने बनाउँछ। ब्लूमबर्गका अनुसार, प्रयोगकर्ताले आफ्ना मूडजस्ता थप विशेष शब्दहरू प्रयोग गरेर सामग्री खोज्न सक्नेछन्।
उदाहरणका लागि, “दुखी” जस्ता खोजी शब्दहरू प्रयोग गर्दा नाटकीय शोहरू देखाइने सम्भावना छ। यो फिचर जेनेरेटिभ एआईबाट सञ्चालित भएकाले प्रयोगकर्ताले प्राकृतिक भाषा प्रयोग गरेर सर्च गर्न सक्ने अपेक्षा गरिएको इन्ग्याजेटले उल्लेख गरेको छ।
समाचार संस्था अनुसार, नेटफ्लिक्स ले पहिले देखिनै प्रयोगकर्ताको हेर्ने बानीको आधारमा सिफारिस गर्न एआई प्रयोग गर्दै आएको छ। र अहिले त्यो प्रविधिलाई अझ फराकिलो रुपमा प्रयोग गर्ने तयारीमा छ।
हालको लागि, ओपनएआई-सञ्चालित सर्च सुविधा अष्ट्रेलिया र न्युजिल्यान्डमा मात्र परीक्षणमा छ, तर नेटफ्लिक्स ले अमेरिकासहित थप बजारमा परीक्षण विस्तार गर्ने योजना बनाएको रिपोर्ट गरिएको छ।
सामान्यतया एण्ड्रोइड प्रयोगकर्तालाई पहिले सुविधा उपलब्ध गराउने गरेको नेटफ्लिक्स ले यसपटक भने यो फिचर आईओएस उपकरणमा मात्र उपलब्ध गराएको छ। आगामी परीक्षण बजारहरूमा एण्ड्रोइड मा सुविधा उपलब्ध हुने या नहुने अहिले स्पष्ट छैन।
प्रकाशित: १ बैशाख २०८२, सोमबार