जापानमा रोबोट्याक्सी परीक्षण गर्दै वेमो

  • Technology Khabar | ३१ चैत्र २०८१, आईतवार
जापानमा रोबोट्याक्सी परीक्षण गर्दै वेमो

काठमाडौं ।

वेमोले अप्रिल १४ देखि पहिलोपटक अमेरिका बाहिर आफ्नो रोबोट्याक्सी प्रविधिको परीक्षण सुरु गर्न लागेको छ। योमिउरी शिम्बुनका अनुसार कम्पनीले प्रारम्भिक चरणको परीक्षण कार्यक्रम अन्तर्गत टोकियोमा आफ्ना २५ वटा विद्युतीय ज्यागुअर-आई-पेस गाडीहरू परिचालन गर्नेछ।

यद्यपि कम्पनीले सुरुवाती चरणमा ती गाडीहरू चालकबिना चलाउने छैन।

टोकियोको निहोन कोत्सु को. नामक ट्याक्सी कम्पनीका चालकहरूले ती गाडीहरू चियोदा, मिनाता तथा शिञ्जुकुसहित टोकियोका सात वडामा चलाउने इन्ग्याजेटले उल्लेख गरेको छ।

आई-पेस गाडीहरूमा जडान गरिएका क्यामरा र राडारहरूले टोकियोका सडकहरूको डाटा संकलन गर्नेछन्, जुन सामान्यतया अमेरिकी सडकहरूभन्दा साँघुरा हुन्छन्। ती उपकरणहरूले कम्पनीलाई स्थानीय पूर्वाधार, सडक अवस्थाहरू र स्थानीय बासिन्दाको गाडी चलाउने बानीबारे जानकारी दिनेछन्।

“हामीलाई यहाँको फरक ड्राइभिङ वातावरण बुझ्न जरुरी छ, यहाँको ड्राइभिङलाई अनौठो बनाउने तत्व के हो भन्ने कुरा बुझ्न महत्त्वपूर्ण छ,” वेमोकी वरिष्ठ निर्देशक निकोल ग्याभेलले शहरमा आयोजित एक कार्यक्रममा भनिन्।

वेमोले राजधानी टोकियोका सडकका नियमअनुसार आफ्नो सफ्टवेयर परिमार्जन गर्नुपर्नेछ। ग्याभेलका अनुसार, अहिले कम्पनी परीक्षणमै केन्द्रित छ तर भविष्यमा टोकियोमा व्यवसाय गर्ने चाहना रहेको उनले बताइन्।

तर त्यो सम्भव हुन अझै समय लाग्ने देखिन्छ। प्रारम्भिक म्यापिङ चरणपछि, कम्पनीले चालकको निगरानीमा स्वत:चालित परीक्षण गर्नुपर्नेछ, अनि मात्र चालकबिनाका परीक्षणहरू सम्भव हुनेछ।

प्रकाशित: ३१ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार