Technology Khabar ३१ चैत्र २०८१, आईतवार
काठमाडौं ।
यसअघि ओपनएआईमा काम गरेका एक दर्जन कर्मचारीको समूहले शुक्रबार एउटा कानुनी दस्तावेज अदालतमा बुझाएका छन् ।
उनीहरूले ओपनएआईको सह–संस्थापक ईलन मस्कले दायर गरेको मुद्दालाई समर्थन जनाएका छन्, जसको उद्देश्य कम्पनीको गैर–नाफामूलक हैसियत जोगाउने हो। यो घटनालाई कृत्रिम बुद्धिमत्ता कम्पनीको भविष्यबारेको विवादमा पछिल्लो मोडको रूपमा हेरिएको छ।
कम्पनीका उच्च पदस्थहरूले लगानीकर्तालाई नियन्त्रण दिने प्रस्ताव ल्याएका छन्, जसप्रति धेरै चिन्ता उठेको छ। मस्क र अन्यले दायर गरेको मुद्दामा व्यापारिक फाइदाभन्दा मानवीय हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
गत वर्ष विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका मस्कले ओपनएआई र यसको प्रमुख साम अल्टम्यानविरुद्ध मुद्दा हालेका थिए। मुद्दामा यसले व्यापारिक लाभका लागि नभई मानव जातिको हितका लागि एआई विकास गर्ने भनिएकोमा ओपनएआई संस्थागत उद्देश्यबाट भड्किएको आरोप लगाइएको छ । ओपनएआई र अल्टम्यानले ती आरोप अस्वीकार गरेका छन् ।
रोयटर्सका अनुसार शुक्रबारको संघीय अदालतमा पेश गरिएको दस्तावेजमा पूर्व कर्मचारीहरूले गैर–नाफामूलक संस्थाबाट नियन्त्रण खोस्नु संस्थाको उद्देश्यको गम्भीर उल्लंघन हुने भनेका छन् किनभने यसले नाफामूलक एआई विकास कम्पनीमाथिको निगरानी गुमाउनेछ ।
प्राविधिक र नेतृत्व तहमा काम गरिसकेका ती कर्मचारीहरूले संस्थाको नियन्त्रण प्रणाली ओपनएआई को समग्र रणनीतिका लागि अत्यावश्यक रहेको बताएका छन्। उनीहरूले भनेका छन्, “हामी काम गरिरहँदा कम्पनीका उच्च पदस्थहरूले बारम्बार यो संरचनाको महत्वबारे जोड दिइरहेका थिए।”
यही संरचनाले प्रतिभावान कर्मचारी भित्र्याउन पनि सहयोग गरेको उनीहरूको भनाइ छ। धेरै कर्मचारीहरू गैर–नाफामूलक उद्देश्यबाट प्रेरित भएर कम्पनीमा आबद्ध भएको उनीहरूको दावी छ।
ओपनएआईले लगानीकर्ताबाट पूँजी जुटाउन गैर–नाफामूलक संस्थाको नियन्त्रण हटाउनु पर्ने तर्क गरेको छ। कम्पनीले गैर–नाफामूलक संस्थाले ओपनएआईमा हिस्सेदारी राखिरहने बताएको छ जुन कम्पनी बढ्दै जाँदा मूल्यवान् हुँदै जानेछ। यसले गैर–नाफामूलक संस्था सम्पन्न बन्ने र आफ्नो उद्देश्य पुरा गर्न सक्षम हुने दावी कम्पनीले गरेको छ।
ओपनएआईले जारी गरेको वक्तव्यमा भनिएको छ, “हाम्रो बोर्ड स्पष्ट छ: हाम्रो गैर–नाफामूलक संस्था कतै जाँदै छैन, र हाम्रो उद्देश्य जस्ताको तस्तै रहनेछ।”
मस्क र अल्टम्यानले २०१५ मा च्याटजीपीटी बनाउने ओपनएआई को सह–स्थापना गरेका थिए। तर मस्क कम्पनी प्रविधिको मुख्य केन्द्र बन्नुअघि नै बाहिरिएका थिए। कम्पनीको संरचना परिवर्तनको विरोधमा मस्कले मुद्दा हालेका हुन्, र यो मुद्दामा अर्को वर्ष वसन्तमा ज्यूरी ट्रायल सुरु हुने तय भएको छ।
हालै मस्कले २०२३ मा आफ्नै एआई कम्पनी एक्सएआई स्थापना गरेका छन्। अल्टम्यानले मस्क प्रतिस्पर्धी कम्पनीलाई ढिलो बनाउन खोजिरहेका आरोप लगाएका रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ३१ चैत्र २०८१, आईतवार