Technology Khabar ३१ चैत्र २०८१, आईतवार
काठमाडौं ।
इन्स्टाग्राम र टिकटकलाई पछि पार्दै च्याटजीपीटी पहिलो पटक, मार्च महिनामा विश्वमा सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न सफल भएको छ।
नयाँ तथ्याङ्क अनुसार, फेब्रुअरी देखि मार्चसम्ममा च्याटजीपीटी स्थापनाहरू २८ प्रतिशतले बढेर मार्च महिनामा ४ करोड ६० लाख (४६ मिलियन) नयाँ डाउनलोडहरू गरिएको एपफिगर्सले हालै रिपोर्ट गरेको छ।
त्यसैगरी इन्स्टाग्राम दोस्रो स्थानमा झरेको छ भने टिकटक तेस्रो स्थानमा रहेको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले उल्लेख गरेको छ।
मार्च महिनामा, च्याटजीपीटीले केही ठूला सुधारहरू गरेको बताइएको छ जसमा एक वर्षभन्दा बढी समय पछि यसको इमेज जेनेरेसन क्यापाबिलिटिज (तस्बिर उत्पादन क्षमताहरू) मा पहिलो प्रमुख अपग्रेड (स्तरोन्नति) समावेश रहेको र जसले इन्स्टल्स (स्थापनाहरू) को संख्या बढाउन मद्दत गरेको हुन सक्ने उल्लेख गरिएको छ।
यो अपग्रेडसँगै प्रयोगकर्ताहरूले स्टुडियो गिब्ली–स्टायल इमेजहरू र मीमहरू उत्पन्न गर्न सक्निछ भन्ने कुरा पत्ता लगाएपछि मार्चको अन्त्य र अप्रिल महिनाको सुरुमा च्याटजीपीटी भाइरल हुन पुगेको थियो।
त्यसैगरी मार्च महिनामा ओपनएआईले इमेज (तस्बिर) हरूको लागि कन्टेन्ट मोडरेसन (सामग्री मध्यस्थता) नीतिहरू वरिपरि केही सुरक्षा उपायहरू पनि हटाएको र च्याटजीपीटीको एआई भ्वाइस सुविधा सुधार गरेको थियो।
सन् २०२१ देखि २०२५ को पहिलो त्रैमासिकको तुलना गर्दा च्याटजीपीटीको स्थापना वर्षिक रुपमा १४८ प्रतिशतले बढेको एपफिगर्सले उल्लेख गरेको छ।
लोकप्रिय च्याटबोटको यस महिनाको वृद्धिको पछाडि नयाँ सुविधाहरू मुख्य कारण नभएको कम्पनीको अनुमान रहेको छ।
“च्याटजीपीटी अब, २००० को दशकमा गुगल जस्तै चर्चित बन्दै गएको महसुस हुन थालेको छ, जहाँ धेरै मानिसहरू ‘एआई’ को सट्टा ‘च्याटजीपीटी’ सोच्छन्,” एपफिगर्सका संस्थापक र सीईओ एरियल माइकलीले भने।
यस बाहेक मार्च महिनामा, मेटाका सहित अन्य सामाजिक एपहरूले शीर्ष सूचीहरूमा पर्न सफल भएका छन्। फेसबुक र व्हाट्सएप शीर्ष पाँच स्थानभित्र परेका छन् टेमुसँगै क्यापकट, टेलिग्राम, स्न्यापच्याट, र मेटाको थ्रेड्स जस्ता अन्य एपहरू शीर्ष १० मा परेका छन्।
कुल मिलाएर, मार्च महिनामा, शीर्ष १० एपहरू ३३ करोड ९० लाख पटक डाउनलोड गरिएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ३१ चैत्र २०८१, आईतवार