एआईमा अहिले आक्रामक लगानी गर्नुपर्छ: अमेजनका सीईओ ज्यासी

Technology Khabar ३१ चैत्र २०८१, आईतवार

काठमाडौं ।

अमेजनका सीईओ एन्डी जेसीले कम्पनीहरूले भविष्यमा पूर्ण वित्तीय लाभ लिनका लागि अहिले नै कृत्रिम बुद्धिमत्ता (एआई) मा “आक्रामक रूपमा लगानी” गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

बिहीबार सार्वजनिक गरिएको अमेजनका सेयरधनीहरूलाई लेखिएको आफ्नो वार्षिक पत्रमा जेसीले एआई नवप्रवर्तन र एआई उत्पादनप्रति ग्राहकको मागसँग तालमेल राख्न “ठूलो पूँजी” आवश्यक पर्ने बताएका छन्। उनले अमेजनले पनि वर्षौँपछि लगानीको राम्रो प्रतिफल पाउन चाहन्छ भने अहिले नै यो खर्च गर्नुपर्ने बताएको टेकक्रञ्चले उल्लेख गरेको छ।

जेसीका यी टिप्पणीहरू फेब्रुअरीमा चौथो त्रैमासिक आम्दानीको घोषणापछि आएका हुन्, जहाँ अमेजनले २०२५ मा पूँजीगत खर्चमा १०० अर्ब डलरभन्दा बढी खर्च गर्ने योजना बनाएको थियो। त्यसमध्ये “धेरैजसो हिस्सा” एडब्लूएसको एआई क्षमतामा खर्च गरिने उनले त्यतिबेला बताएका थिए।

“हामी अझै पनि विश्वास गर्छौं कि एआई जीवनमा एकपटक मात्र आउने पुनःआविष्कार हो,” जेसीले सेयरधनी पत्रमा लेखेका छन्। “माग यस्तो छ जुन हामीले पहिले कहिल्यै देखेका थिएनौं, र हामीले अहिले आक्रामक लगानी गरे हाम्रो ग्राहक, सेयरधनी र व्यापारलाई राम्रो सेवा पुग्नेछ।”

जेसीले अहिले एआई सम्बन्धी सबैभन्दा ठूला खर्चहरू डाटा सेन्टर र चिप्स भएको बताए, तर समयसँगै यो संरचना सस्तो हुँदै जाने उल्लेख गरे।

“एडब्लूएसमा माग जति छिटो बढ्छ, त्यति नै डाटा सेन्टर, चिप्स र हार्डवेयर खरिद गर्नुपर्ने हुन्छ (र एआई चिपहरू सीपीयू चिपहरूभन्दा धेरै महँगा हुन्छन्),” जेसीले लेखे। “हामीले यी सम्पत्ति वर्षौँसम्म प्रयोग गर्न सकिने भए पनि पूँजी पहिले नै खर्च गर्नुपर्छ।”

जेसीले अमेजनको आफ्नै ट्रेनियम २ चिप्सको उदाहरण दिँदै समयसँगै एआई संरचना सस्तो हुँदै जाने संकेत गरे। उनले थपे कि यी चिप्सले अहिले उपलब्ध जीपीयूमा आधारित कम्प्युटिङ क्षमताभन्दा ३०–४० प्रतिशत राम्रो मूल्य-प्रदर्शन दिन्छ। ट्रेनियम२ सन् २०२४ को अन्त्यमा सार्वजनिक गरिएको थियो।

जेसीले एआई सम्बन्धी मूल्य संरचना भविष्यमा परिवर्तन हुने बताए जसअनुसार प्रशिक्षण एआई मोडेलहरू चलाउन लागत घट्नेछ र खर्च ‘इनफरेन्स’ मा केन्द्रित हुनेछ।

“हामी इनफरेन्सलाई ग्राहकका लागि सस्तो बनाउने गम्भीर आवश्यकताको महसुस गरिरहेका छौं,” जेसीले लेखे। “अझै प्रभावकारी चिप्सले सहयोग गर्नेछ। तर, आगामी केही वर्षमा मोडेल डिस्टिलेसन, प्रम्प्ट क्याचिङ, कम्प्युटिङ संरचना र मोडेल आर्किटेक्चरमा सुधारका साथ इनफरेन्स अझै प्रभावकारी बन्दै जानेछ।”

जेसीले पत्रमा अमेजन हाल १,००० भन्दा बढी जेनेरेटिभ एआई एप्लिकेसन निर्माण गरिरहेको बताएका छन्। उनले थपे कि अमेजनको एआई आम्दानी हरेक वर्ष त्रै-आङ्किक प्रतिशतले बढिरहेको छ र यो “बहु-अर्ब डलर वार्षिक राजस्व दर” मा पुगेको छ।

अमेजनले यसबारे थप टिप्पणी गर्न अस्वीकार गरेको छ।

प्रकाशित: ३१ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया