नेपाल र चीन बिच प्रविधि सम्बन्ध थप सुदृढ बनाउन प्रविधि उद्यमी र अधिकारीहरुद्वारा आह्वान

Technology Khabar ३० चैत्र २०८१, शनिबार

काठमाडौं ।

चीनको ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूतावासले गत मंगलबार ८ अप्रिलमा नेपाल र चीनबीच प्रविधि सहयोग प्रबर्द्धन गर्न कार्यक्रम आयोजना गरेको छ।

“नेपाल–चीन प्रविधि सम्बन्ध सुदृढ बनाउन नवप्रवर्तन र लगानी प्रवर्द्धन” शीर्षकको सो कार्यक्रमलाई  सम्बोधन गर्दै महावाणिज्यदूत भरत खनालले नेपालमा डिजिटल रूपान्तरण भइरहेको उल्लेख गर्दै कृषि, पर्यटन, उत्पादन र वित्तीय सेवाजस्ता विविध क्षेत्रमा प्रविधिको माग बढ्दो क्रममा रहेको जानकारी दिएका थिए।

“चीनले कृत्रिम बुद्धिमत्ता (एआई), फाइभजी  र डिजिटल अर्थतन्त्रमा हासिल गरेका उपलब्धिहरू प्रेरणादायी छन्। हामी नेपालको उदाउँदो प्रविधि क्षेत्रलाई तपाईंहरूको दक्षतासँग जोडेर दुबै देशलाई फाइदा हुने समन्वय सिर्जना गर्न चाहन्छौं,” खनालले भने, “नेपाल अब केवल हिमालको देश मात्र होइन, हामी नवप्रवर्तनको केन्द्रको रूपमा उदाउँदैछौं। हाम्रो जनसंख्याको ६० प्रतिशत ३५ वर्षमुनिका युवा छन्, जो  प्रविधिमा दक्ष र अङ्ग्रेजी भाषामा पोख्त छन्।”

महावाणिज्यदूत खनालले हालै नेपालको संघीय संसदबाट सूचना प्रविधि (आईटी) क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनहरू पारित भएको जानकारी दिँदै सरकारले प्रविधिको सम्भावनालाई उपयोग गर्न रूपान्तरणकारी पहलहरू अघि सारेको जनाए।

उनले चिनियाँ लगानीकर्ता र प्रविधि विज्ञहरूलाई नेपालको उच्च वृद्धिदर भएका क्षेत्रहरू- जस्तै सफ्टवेयर विकास, सूचना प्रविधि सेवा र कृत्रिम बुद्धिमत्ता (एआइ)- मा लगानी गर्न, अनुसन्धान र विकासका लागि प्रविधि केन्द्रहरूसँग सहकार्य गर्न तथा शैक्षिक तथा औद्योगिक कार्यक्रमहरूमार्फत ज्ञान आदानप्रदान गर्न आह्वान पनि गरे।

“आउनुहोस्, प्रविधिबाट हाम्रो सम्बन्धलाई अझ बलियो बनाऔं। नेपाल सरकार नीतिगत सुधार, लगानी सुरक्षाको प्रत्याभूति र सहकार्यको वातावरण बनाउन प्रतिबद्ध छ। हामी प्रविधिको क्षेत्रमा ज्ञान र अभ्यास साझा गर्न अनुकूल वातावरण बनाउने लक्ष्य राख्छौं। डिजिटल युगमा नवप्रवर्तन नै आर्थिक विकास र सामाजिक रुपान्तरणको मूल चाबी हो। हामी एक अर्काबाट सिक्ने, सँगै नवप्रवर्तन गर्ने र नेपाल–चीन मित्रता तथा सहकार्यलाई सुदृढ बनाउने यो अवसरको उपयोग गरौं,” खनालले भने।

नेपाल प्रविधिको उदाउँदो केन्द्र’

कार्यक्रममा बेलायतमा मुख्यालय रहेको आईटी परामर्श तथा साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले “नेपाल: प्रविधिको उदाउँदो केन्द्र” विषयक प्रस्तुतिमा नेपालमा हरेक वर्ष सूचना प्रविधिका हजारौं  स्नातकहरु उत्पादन भै रहेका, ८५ हजारभन्दा बढी फ्रीलान्सरहरू सक्रिय रहेका  र झन्डै चार करोड डलर बराबरको डिजिटल अर्थतन्त्र रहेको बताए।

“नेपाल भारत र चीनबीचको सस्तो, स्वच्छ ऊर्जा भएको प्रविधि गन्तव्य हो र नेपालमा  एआई, डिजिटल पूर्वाधार, हरित प्रविधि जस्ता चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ)  सँग मेल खाने साझा रुचिका क्षेत्रहरू पनि छन्,” उनले भने।

“ह्वावे नेपालमा ४ जी र ५ जी कनेक्टिविटीमा कार्यरत छ। नेपाली फ्रीलान्सरहरूले चिनियाँ स्टार्टअपहरूका लागि एआई/एमएल मोडलहरू निर्माण गरिरहेका छन्। विद्युतीय सवारी साधन, नवप्रवर्तन तथा शिक्षा आदानप्रदान कार्यक्रमहरू कन्फ्युसियस इन्स्टिच्युटमार्फत सञ्चालन भइरहेको छ,” फुयाँलले भने।

उनले चिनियाँ साझेदारहरूलाई कृत्रिम बुद्धिमत्ता (एआइ), फिनटेक र डिजिटल पूर्वाधारमा सहकार्य गर्न आह्वान गरे।

कार्यक्रममा ग्वान्जाओ एसोसिएसन फर साइन्स एन्ड टेक्नोलोजीकी सचिव तथा कार्यकारी उपाध्यक्ष सु लिउले चीन र नेपालले पारस्परिक मित्रतासहित शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पालना गर्दै पूर्वाधार निर्माण, सांस्कृतिक आदानप्रदान र विज्ञान–प्रविधि क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताइन्।

“प्राचीन कालदेखि नै ग्वान्जाओ समुद्री रेशम मार्गको महत्त्वपूर्ण केन्द्र हो। सन् २०२३ मा ग्वान्जाओको  कुल गार्हस्थ उत्पादन ३.१ ट्रिलियन युआन पुगेको छ र ‘न्याचुरल इन्डेक्स -साइन्सेज सिटिज ’ मा यसको स्थान विश्वमा आठौँ भएको छ,” उनले  बताइन।

“हामी नेपालका वैज्ञानिक, प्रविधि क्षेत्र र व्यवसायिक समुदायका साथीहरूलाई ग्वान्जाओ भ्रमण गर्न, सहकार्यको अवसर पहिचान गर्न, र ग्वाङ्डोङ–हङकङ–मकाउ ग्रेटर बे एरियाको विकास लाभहरूमा सहभागी हुन हार्दिक स्वागत गर्छौं। ग्वान्जाओ एसोसिएसन फर साइन्स एन्ड टेक्नोलोजी सबैसँग हातेमालो गर्दै खुला, साझेदारीयुक्त, साझा फाइदामा आधारित प्रविधि सहकार्यको नयाँ ढाँचा निर्माण गर्न तत्पर छ,” उनले भनिन।

साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसंग आबद्ध प्राज्ञ चेन जुन्लोंगले आपसी अनुसन्धान सहकार्य तथा दुवै मुलुकका स्टार्ट अपहरु बीच ज्ञान  आदानप्रदानमा जोड दिए। कार्यक्रममा बेइजिङ्ग डानचेङ्ग ल अफिसेज एलएलपीकी एटर्नी सीआइ  लीले नेपालमा चिनियाँ कम्पनीहरूले लगानी गर्दा लागू हुने कानुनी व्यवस्था विषयमा प्रस्तुति दिएकी थिईन्।

लोटस होल्डिङ्ग्सका सिइओ अजीत बिक्रम शाह र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत स्टार्टअप तथा नवप्रवर्तन समिति सदस्य तथा आद्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख निश्चलसिंह भण्डारी भर्चुअल रूपमा सहभागी भई नेपाल प्रविधिको नयाँ गन्तव्यको रूपमा उदाउँदै गरेको बताउँदै नेपाली कम्पनीहरु  चिनियाँ कम्पनीहरूसँग सहकार्य गर्न इच्छुक रहेको बताए।

नेपाल र चीनका सरकारी अधिकारी, लगानीकर्ता, प्रविधि उद्यमी र विज्ञहरू उपस्थित सो कार्यक्रममा दुवै देशबीच नवप्रवर्तन, प्रविधि र लगानीमा सहकार्यको सम्भावनाबारे छलफल गरिएको थियो।

ग्वान्जाओस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले नेपाललाई प्रविधिको सम्भावनायुक्त केन्द्रका रूपमा प्रस्तुत गर्नुका साथै नेपाल–चीन सहकार्यका सम्भावनाहरू उजागर गरेको थियो।

प्रकाशित: ३० चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया