यी हुन् नेपालको सूचना प्रविधि क्षेत्रका प्रमुख समस्याहरु

Technology Khabar २९ चैत्र २०८१, शुक्रबार

यी हुन् नेपालको सूचना प्रविधि क्षेत्रका प्रमुख समस्याहरु
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

नेपालमा सूचना प्रविधि महत्वपूर्ण क्षेत्रको रुपमा विकास भइरहेको छ।  सूचना तथा सञ्चार प्रवर्द्धनमा भएको तीब्र विकास र आर्थिक सामाजिक क्षेत्रमा यसको प्रयोगको व्यापकताका कारण यो अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा स्थापित हुन पुगेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको ठहर गरेको छ।

यसैगरी कुल गार्हस्थ्य उत्पादन गणना गर्न प्रयोग गरिने १८ ओटा औद्योगिक वर्गीकरण मध्येको सूचना तथा सञ्चार नेपालका लागि एउटा प्रमुख आर्थिक क्षेत्र हो।

आयोगकाअनुसार, यस क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब दुई प्रतिशत (आर्थिक वर्ष २०८०/८१ को कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान १.९४ रहेको ) योगदान गरेको अनुमान छ।

देशको अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको सूचना प्रविधि क्षेत्रमा विविध समस्याहरु रहेको आयोगले पहिचान गरेको छ।

यी हुन सूचना प्रविधि क्षेत्रमा समस्याहरु:-

१ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दक्ष र पर्याप्त जनशक्तिको अभाव रहेको छ। नेपालमा उत्पादन हुने यस क्षेत्र सम्बद्ध जनशक्ति विदेश पलायन हुने दर उच्च छ भने नेपाल बाहिर यस विषयमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरु सम्बन्धित मुलुक वा विकसित मुलुकमा नै बसोबास गर्ने प्रवृत्ति रहेका कारण यस क्षेत्रमा जनशक्ति अभाव रहेको छ।

२ सूचना तथा प्रविधि क्षेत्रको विकासका लागि डेडिकेटेड क्षेत्र (सूचना प्रविध पार्क) र भौतिक संरचनाको अभाव रहेको छ। देशका प्रमुख शहरमा यस्तो पूर्वाधारको व्यवस्थापन गर्नु अति आवश्यक छ । यस्ता स्थानको अभावमा सूचना प्रविधि उद्योगको रूपमा विकास हुनमा कठिनाइ परेको छ।

३ दूरसञ्चार सेवा र विद्युत् आपूर्ति भरपर्दो छैन । सूचना तथा प्रविधि क्षेत्रको विकासमा इन्टरनेट सेवा, दुरसञ्चार सेवा र विद्युत सेवाको महत्वपूर्ण भूमिका हुन्छ। नेपालमा यी तीनवटै सेवाको गुणस्तर संतोषजनक छैन। विद्युत आपूर्तिको नियमितता र कमजोर इन्टरनेट जडानले यस क्षेत्रको समग्र उत्पादकत्व न्यून रहेको छ । त्यसैगरी विद्युतीय इन्टरनेट ब्रोडब्याण्ड च्यानलहरु, कम्प्युटिंग पावर, व्यान्डविथ समेतको न्यूनता रहेको छ ।

४ सुरक्षित डाटा केन्द्रको कमी छः सूचना प्रविधिको विकास र सूचना प्रविधि सेवाको निर्यातमा क्लाउड सेवाको महत्व उच्च रहेको छ । जसका लागि सुरक्षित डेटा केन्द्र अत्यावश्यक हुन्छ। डाटा केन्द्रको आवश्यक सर्भर, राउटर, स्विच र फायरवाल, साथै जेनरेटर, ब्याकअप उपकरणहरू, अग्नि तथा ताप पत्ता लगाउने तथा नियन्त्रण गर्ने र वातावरण अनुकूलन व्यवस्थापन गर्ने जस्ता सहयोगी प्रणालीको पर्याप्त विकास हुन सकेको छैन ।

५ साइबर सुरक्षाः सूचना प्रविधिको विकासको आधारभूत पक्षको रूपमा साइबर सुरक्षा रहेको हुन्छ। नेपालमा साइबर सुरक्षाको अवस्था सन्तोषजनक रहेको छैन । सरकारदेखि संस्थागत संस्थाहरूको वेबसाईंट र सूचना प्रविधि प्रणालीमा हमला (ह्याकिंङ्) का घटनाहरू बढ्दो छ । डेटा चोरी/दुरुपयोग, सूचना प्रविधि प्रणालीहरू माथिको अनधिकृत पहुँच, साइबर अपराध, सूचना प्रविधि प्रणालीमाथि भइरहेका साइवर आक्रमणको प्रतिरक्षा गर्ने विषयलाई थप सबलीकरण गर्नु जरुरी छ । साइबर सुरक्षा र जलवायु/प्राकृतिक घटनाहरूबाट जोखिम न्युनिकरण गर्न, संवेदनशील प्रणालीहरूको नियमित र निरन्तर सञ्चालन सुनिश्चित गर्न भार सन्तुलन ( लोड व्यलेंसिंग), निष्क्रिय इन्टरनेट सेवा प्रदायक (रिडुन्डेन्ड आइएसपी), इन्ट्रानेट / लीज कनेक्टिभिटी जस्ता संरचना को विकास गर्नु आवश्यक छ।

६ इन्टरप्राइज सेवा दिने निकायहरूको क्षमता अभिवृद्धि: सूचना प्रविधि सेवालाई व्यापक र प्रभावकारी बनाउँदै लैजान इन्टरप्राइज सेवा दिने निकायहरुको क्षमता अभिवृद्धि गर्नु अपरिहार्य छ । यसका लागि सम्बन्धित सेवा प्रदायक निकायहरुको अनुकूलको डिजिटल प्लेटफर्म निर्माण गर्दै जानु पर्ने देखिन्छ। साथै सम्बन्धित निकायमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्ध गर्नु आवश्यक हुन्छ । यसले सम्बन्धित निकायको सेवा प्रवाहको प्रक्रिया सरलीकरण र सेवाको गुणस्तर सुनिश्चित गर्न सकिन्छ ।

७ अनुसन्धान र विकास: नेपालको समग्र क्षेत्रमा अनुसन्धान र विकास प्रवर्द्धन हुन नसकेको हुँदा सूचना प्रविधि क्षेत्रमा समेत अनुसन्धान र विकास प्राथमिकतामा परेको छैन । सूचना प्रविधिमा नवप्रवर्तन अत्यन्त तीव्रतर गतिमा अघि बढिरहेको र नेपालको सूचना प्रविधिको इकोसिष्टम सो अनुरुप विकास र परिवर्तन हुन नसक्दा सूचना प्रविधि क्षेत्रको विकासमा नै सुस्तता आउन सक्ने तर्फ ध्यान दिनु जरुरी छ। सूचना प्रविधि सम्बद्ध नवीन विषयहरुमा दिक्षित जनशक्तिको पलालयनले समेत अनुसन्धान र विकास ओझेलमा पर्न गएको छ ।

८ सफ्टवेयर तथा हार्डवेयरको मानकीकरण र प्रमाणीकरणको अभाव : मुलुकभित्र सूचना प्रविधि क्षेत्रको विकास र उपयोगका साथै सूचना प्रविधि सेवाको निर्यातका लागि समेत सफ्टवेयर तथा हार्डवयरको गुणस्तरले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तर सफ्टवेयर तथा हार्डवयरको मानकीकरण र प्रमाणीकरणको अभावमा यस क्षेत्रको गुणस्तर नै कमजोर रहेको छ ।

९ लजिस्टिक्स व्यवस्थापनः नेपालका आईटी कम्पनीहरूलाई लजिष्टिक व्यवस्थापनमा कठिनाई रहेको कारण उनीहरूको विकास र वृद्धिमा अवरोध सिर्जना भएको छ । स्थायी प्रकृतिको स्थान र कार्यस्थलको कमीले कम्पनीको विस्तारका लागि कर्मचारी नियुक्ति, कार्यालय स्थापना र फर्निचरदेखि अन्य उपकरण व्यवस्थापनमा कठिनाई रहेको छ । यसले थप लगानीमा जोखिम सिर्जना गरेको छ । सरकारी तवरमा कार्यस्थल ( वर्क स्टेसन) निर्माण गर्न सकिएमा लजिस्टिक्स व्यवस्थापन सहज हुने देखिन्छ।

१० सूचना प्रविधि कम्पनीको सहजीकरणमा समस्या: अहिले सूचना प्रविधि कम्पनीहरुको नियमन र व्यवस्थापन परम्परागत व्यवसाय र उद्यमको नियमन गर्ने निकायबाट नै हुँदै आएको छ। यस क्षेत्रको पृथक प्रकृतिका कारण परम्परागत निकायबाट यसको नियमन हुँदा विभिन्न समस्या उत्पन्न भएको छ। सूचना प्रविधि क्षेत्रका व्यवसायी तथा उद्यमी अधिकांश युवाहरु हुने र आफ्ना कामका बहुनिक धाउनु पर्दा Harras महशुस गर्ने कारण कतिपयले कम्पनी नै बन्द गरी विदेशिएका घटना समेत देखिएको छ।अत यस्ता कम्पनीको दर्ता, प्रोडक्ट दर्ता लगायतका अन्य प्रशासनिक कार्य एउटै निकायबाट हुने व्यवस्था गर्नु आवश्यक देखिन्छ।

११ सूचना प्रविधि कम्पनीमा काम गर्ने व्यक्तिलाई लजिष्टिक्स सुविधाको अभाव : सूचना प्रविधि कम्पनीमा विदेशी मुलुकको Time Zone बमोजिम काम गर्नुपर्ने र त्यसले गर्दा यस्ता कम्पनीमा काम गर्ने व्यक्तिहरु रातको समयमा आवत जावत गर्नुपर्ने हुन्छ । तर नेपालमा रातको समयमा सार्वजनिक सवारीको व्यवस्था नरहेको र कतिपय महिला कर्मचारीहरु मुख्य शहरभन्दा बाहिरबाट समेत कामका लागि आउने सन्दर्भमा उनिहरुको आवासको समस्याले जनशक्ति विकासमा अवरोध सिर्जना गरेको
छ।

१२ सूचना प्रविधि क्षेत्रको विकासमा न्यून बजेट : सरकारले बजेट वक्तव्य मार्फत यस क्षेत्रलाई अर्थतन्त्रको संवाहक क्षेत्र घोषणा गरेपनि बजेट विनियोजन भने अत्यन्त न्यून गरेको छ । उदाहरणका लागि चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न कायक्रम घोषणा गरिएकोमा काठमाण्डौको खुमलटारमा प्रस्तावित ज्ञान पार्क निर्माणका लागि रु। १७ करोड मात्र विनियोजन भएको छ। त्यसैगरी काठमाडौंको डिल्लीबजारस्थित चारखालमा अत्याधुनिक सूचना प्रविधि हब बनाउँने भनिएपनि रकम भने विनियोजन भएको छैन । सरकारले बजेट व्यवस्था नगर्दा निजी क्षेत्र समेत यस्ता कार्यमा उत्साहित हुन सकेको छैन।

१३ स्वदेशी सूचना प्रविधि उद्योगको प्रवर्द्धन: नेपाल सूचना प्रविधि कम्पनीहरुले उत्पादन गरेको IT Product विकसित देशमा प्रतिस्पर्धात्मक तवरमा उपयोग भइरहेकोमा नेपालमा भने यस्ता Product को उपयोगमा उदासिनता रहेको छ । अतः स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता साथ उपयोग गर्ने वातावरण निर्माण गर्नु पर्ने देखिन्छ।

प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया