पृथ्वीमा पाइने यी जीव रूपी हाइब्रिड लाइकनहरू मङ्गल ग्रहमा पनि बाँच्न सक्ने: वैज्ञानिकहरु

Technology Khabar २८ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

पृथ्वीमा पाइने जीव रूपी लाइकनहरू मङ्गल ग्रहमा बाँच्न सक्ने गरी बलिया हुन सक्ने नयाँ अध्ययनले देखाएको छ। प्रयोगशालामा लाइकनहरूलाई मङ्गल ग्रहमा हुने एक वर्ष बराबरको विकिरण एक दिनभित्रै प्रहार गरे र लाइकनहरू त्यो प्रक्रियामा उत्तीर्ण भएपछि वैज्ञानिकहरू यो निष्कर्षमा तब पुगेका हुन्।

मङ्गल ग्रहमा बाँच्न सजिलो छैन। यो रातो ग्रह मूलतः एउटा विशाल मरुभूमि हो जसको वातावरण अति कम छ, तापक्रम निकै न्यून हुन्छ र सतहमै तरल पानी छैन।

तर मङ्गलमा जीवनको लागि सबैभन्दा ठूलो बाधा भनेको त्यहाँ बलियो चुम्बकीय क्षेत्रको अभाव हो, जसले पृथ्वीमा जीवित कोषलाई कस्मिक रे र सोलार फ्लेयरहरूबाट आउने आयोनाइजिङ विकिरणबाट जोगाउँछ। यस्ता विकिरणले जीवित कोषहरूलाई क्षति पुर्‍याउँछन् र डीएनएमा परिवर्तन ल्याउँछन्।

यस्ता चरम अवस्थामा पनि बाँच्न सक्ने जीवहरूको एउटा समूह लाइकन हो, जुन फङ्गी अर्थात् ढुसी र फोटोसिन्थेटिक ब्याक्टेरिया वा अल्गी लेउ बीचको सहजीवी सम्बन्ध हो। यी हाइब्रिड जीवहरूलाई वास्तविक जीवको रूपमा मानिँदैन तर जीवनको वृक्षमा प्रजातिका रूपमा सूचीबद्ध गरिएको छ।

यिनीहरू मिलेर जीवन धान्छन् र धेरै लाइकनहरू लामो समयसम्म पानी नपाई र चरम तापक्रममा पनि बाँच्न सक्छन्। केही प्रजातिहरू त अन्तरिक्षको ‘शून्य’ मा राख्दा पनि बाँचिरहेका पाइएको लाइभसाइन्सले उल्लेख गरेको छ।

मार्च ३१ मा आईएमए फङ्गस नामक जर्नलमा प्रकाशित नयाँ अध्ययनमा वैज्ञानिकहरूले दुईवटा लाइकन प्रजाति — Diploschistes muscorum र Cetraria aculeata — मङ्गलको जस्तै वातावरणमा आयोनाइजिङ विकिरण दिँदा कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने परीक्षण गरे।

यसका लागि वैज्ञानिकहरूको टोलीले पोल्यान्डको वार्सामा रहेको स्पेस रिसर्च सेन्टर अफ द पोलिश एकाडेमी अफ साइन्सेजमा विशेष भ्याकुम च्याम्बर तयार पारे, जसले मङ्गल ग्रहको हावाको दबाब, तापक्रम र रासायनिक संरचना नक्कल गर्‍यो।

त्यसपछि लाइकनहरूलाई पाँच घण्टामै मङ्गलको एक वर्ष बराबरको विकिरण दिइयो। परीक्षण अवधिभर दुबै प्रजाति सक्रिय अवस्थामा नै रहे।

“यी खोजहरूले मङ्गल ग्रहको नक्कली वातावरणमा जैविक प्रक्रियाहरू कसरी सञ्चालन हुन्छ भन्ने हाम्रो बुझाइलाई थप विस्तार गर्छ र हाइड्रेटेड जीवहरूले आयोनाइजिङ विकिरणलाई कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउँछ,” पोल्यान्डको क्राकोभस्थित जागेलोनियन युनिभर्सिटीको इन्स्टिच्युट अफ बोटनीकी अनुसन्धानकर्ता काया स्कुबालाले एक विज्ञप्तिमा भनिन्।

“अन्ततः, यो अनुसन्धानले लाइकनहरूको अनुकूलन क्षमताबारे हाम्रो ज्ञानलाई गहिरो बनाउँछ र तिनीहरूको बाह्य ग्रहीय वातावरणमा उपनिवेश बसाउने सम्भावनालाई देखाउँछ।”

दुवै प्रजातिमध्ये D. muscorum ले विकिरणमा सबैभन्दा बढी प्रतिरोध देखाएको थियो र यसको कोषहरूमा क्षति कम देखिएको थियो, जसले केही लाइकनहरू मङ्गलको वातावरणमा अरूको तुलनामा बढी अनुकूल हुनसक्ने संकेत दिन्छ।

मङ्गलको सतहमा तरल पानी नभएको कारणले कुनै पनि प्रजाति दीर्घकालीन रूपमा स्वयंपरिचालित रूपमा बाँच्न सक्ने सम्भावना भने न्यून नै रहेकाले हाल मङ्गल ग्रहमा कुनै पनि बाह्य ग्रहीय जीवन अस्तित्वमा रहेको सम्भावना निकै कम छ।

मङ्गल ग्रहको लागि उपयुक्त उम्मेदवारहरू

अनुसन्धानकर्ताहरूका अनुसार, नयाँ प्रयोगहरूले लाइकनहरू भविष्यमा मङ्गल मिसनमा लैजान योग्य प्रमुख उम्मेदवार भएको देखाउँछ, यद्यपि D. muscorum बाहेक अन्य बलिया प्रजातिहरू पनि छन् जसलाई मङ्गल यात्रामा लैजान सकिने सम्भावना छ।

तर लाइकनहरू मात्र नभई मङ्गल ग्रहमा बाँच्न सक्ने अन्य जीवहरू पनि हुन सक्छन्।

यस्ता चरम अवस्थामा बाँच्न सक्ने जीवमध्ये लामो समयदेखि मङ्गलको सम्भावित यात्रु मानिँदै आएका जीव हुन् — टार्डिग्रेडहरू। यी सूक्ष्म जीवहरू लगभग अविनाशी मानिन्छन् र तीव्र तापक्रम, उच्च दबाब, पूर्ण निर्जलीकरण र अन्तरिक्षको शून्यलाई समेत सजिलै झेल्न सक्छन्। यसको प्रमुख कारण हो — आफ्नो मेटाबोलिज्म बन्द गरेर उनीहरू एक प्रकारको सुस्त अवस्थामा जान सक्छन्।

अन्य सम्भावित उम्मेदवारमा झारहरू पनि पर्छन् — जसमा लाइकनसँग मिल्दोजुल्दो क्षमता हुन्छ। केही मरुभूमिमा पाइने झार प्रजातिहरूले त गामा किरण र तरल नाइट्रोजनसँग पनि प्रतिरोध देखाएको पाइएको छ, जसले उनीहरू पनि मङ्गलमा टिक्न सक्ने संकेत दिन्छ।

ब्याक्टेरियाजस्ता एककोषीय सूक्ष्म जीवहरू पनि विकिरणबाट जोगिएर जमिनमुनि बस्न पाए भने मङ्गलमा बाँच्न सक्ने सम्भावना राख्छन्। यस्ता जीवाणुहरू सतहमुनि सयौं मिलियन वर्षसम्म निद्राजस्तो अवस्थामा बाँच्न सक्ने अनुसन्धानहरूले देखाएका छन्।

मङ्गल ग्रहमा पाइला टेक्ने पहिलो पृथ्वीका जीवचाहिँ मानव नै हुने सम्भावना छ जसको मङ्गलमा बाँच्न स्वाभाविक रूपमा क्षमता अत्यन्त कम छ। नासाले सन् २०३० को दशकमा मङ्गलमा पहिलो मानवयुक्त मिसन पठाउने योजना बनाएको छ, जसबाट मानिसहरूले त्यहाँ बाँच्न कति गाह्रो हुन्छ भन्ने प्रत्यक्ष अनुभव गर्नेछन्।

प्रकाशित: २८ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया