Technology Khabar २६ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्ने क्रममा रामशाह पथ स्थित पद्मोदय माध्यमिक विद्यालयको कक्षा १० सेक्सन ‘ए’मा स्मार्ट बोर्ड जडान गरिएको छ।
शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर नतिजा सुधार गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याएका ३१३ ओटा वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी प्राविधिक जाँच गरेर विद्यालयका कक्षा कोठामा जडान सुरु गरेको हो।
‘प्रमाणमा आधारित विद्यालयको पूर्वाधार विकास, सिकाइमा टुल्स एण्ड टेक्नोलोजी (प्रविधि र उपकरण), मानव पुँजी विकासअन्तर्गत शिक्षक तालिम, सुशासन, व्यवस्थापन तथा दिगोपना’का लागि महानगरपालिकाले लगानी बढाएको छ,’ स्मार्ट बोर्ड उपयोगका विषयमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘विद्यालयमा स्मार्ट वोर्ड उपयोग गर्ने स्थान, शिक्षकको तत्परता र क्षमताका आधारमा बोर्ड जडान गर्दै जानेछौँ। क्रमशः सबै कक्षामा राख्नेछौँ।’
उनका अनुसार बोर्ड चलाउन शिक्षक तालिम चाहिन्छ। जसले तालिम लिइसकेका छन त्यहाँ पहिलो प्राथमिकतामा जडान हुनेछ। शिक्षकले तालिम नलिएका विद्यालयहरुका लागि पहिले तालिम दिइनेछ। त्यसपछि बोर्ड जडान गरिनेछ।
महानगर गौरव योजनाअन्तर्गत गरी खाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिए।
कक्षा कोठामा जडान भएका बोर्डहरुको डिस्प्ले क्षमता ५० हजार घण्टा हो। सामान्य ठक्करबाट स्क्रिन चिर्किने वा फुट्ने नहुने किसिमको रहेको काठमाडौँ महानगरपालिकाको भनाई छ।
प्रकाशित: २६ चैत्र २०८१, मंगलवार