Technology Khabar २६ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
एप्पलले आफ्नो पहिलो आईफोन सन् २००७ मा लन्च गरेको थियो भने सन् २०२७ मा यसको २० औं जन्मदिन मनाइने उल्लेख गरिएको छ। त्यसै अवसरका लागि एप्पलले आफ्नो सबैभन्दा महत्त्वपूर्ण डिभइसलाई एक प्रमुख रिडिजाइन (पुनः डिजाइन) गर्न खोजिरहेको ब्लूमबर्गको मार्क गर्मनले सुझाव दिएका छन्।
एप्पलले सन् २०२७ मा “ग्लासको अधिक प्रयोग गरिएको” नयाँ आईफोन १९ प्रो मोडलको साथमा आफ्नो पहिलो फोल्डेबल आईफोन लन्च गर्नेछ। रिपोर्टमा के समावेश छ भन्ने बारेमा धेरै विवरण उपलब्ध नभए पनि चेसिसको ठूलो प्रतिशत ग्लासबाट बनेको हुनेछ भनि अनुमान गरिएको छ। यसको अर्थ शाओमी मिक्स अल्फाको जस्तो र्याप–अराउण्ड स्क्रिन वा केहि फरक हुन सक्ने बताइएको छ।
ग्लास चेसिस आईफोनको बारेमा अफवाहहरू वर्षौंदेखि चलिरहेका छन्। पूर्व एप्पल डिजाइन प्रमुख जोनी इभले कथित रूपमा सन् २०१७ मा एक स्लिक र थिन (पातलो) डिभइसको विचारको साथ “सिसाको एक पाना जस्तै देखिने” अल–ग्लास आईफोन चाहेको उल्लेख गरिएको छ।
त्यसैगरी गर्मनको पछिल्लो रिपोर्टले केही रेन्डरहरूले दिएका सुझावको विपरित आईफोन १७ प्रो सिरिजमा टु–टोन ब्याक नहुने स्पष्ट पारेको छ। यसको सट्टा, डिभइसहरूले हालको आईफोन १६ प्रो मोडेलहरूको जस्तै एक समान रङ्ग फिचर गर्ने र नयाँ क्यामरा आइल्याण्ड प्रो मोडेलहरूको जस्तै चौडा हुने गर्मनले पुष्टि गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २६ चैत्र २०८१, मंगलवार