एआई चिपको फितलो बिक्री र फाउन्ड्री घाटाका कारण सामसङको पहिलो त्रैमासिकको नाफा २१ प्रतिशतले घट्ने

Technology Khabar २६ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले मंगलबार पहिलो त्रैमासिकको नाफा २१ प्रतिशतले घट्ने प्रक्षेपण गर्ने अपेक्षा गरिएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) चिपको सुस्त बिक्री र यसको सम्झौता चिप निर्माण व्यवसायमा निरन्तर घाटाले यो असर परेको हो।

संसारकै सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनीले, मार्चको अन्त्यमा सह-प्रमुख कार्यकारी हान जोङ-हीको आकस्मिक निधनपछि व्यवस्थापन पुनर्गठन गरिरहेकै बेला, मंगलबार पहिलो त्रैमासिक प्रारम्भिक आम्दानी विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

सामसङले गत वर्षको मध्यतिरदेखि नै चिप नाफामा गिरावटको सामना गर्दै आएको छ, किनकि यो उच्च प्रदर्शन क्षमता भएका मेमोरी चिपहरू एआई चिपको अग्रणी कम्पनी एनभिडियालाई आपूर्ति गर्नमा प्रमुख प्रतिस्पर्धी एसके हाइनिक्स भन्दा पछाडि परेको थियो।

उच्चस्तरीय बजारमा चुनौती खेपिरहेको सामसङ अहिले चिनियाँ ग्राहकहरूमा निर्भर छ, जो त्यस्ता प्रविधि प्रयोग गर्छन् जसमा अमेरिकी निर्यात प्रतिबन्ध लागू नहुने रोयटर्सले उल्लेख गरेको छ ।

एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजका वरिष्ठ विश्लेषक र्यु यङ-होले चिनियाँ ग्राहकहरूबाट एआई चिपको माग अघिल्लो त्रैमासिकमा अग्रीम रूपमा उच्च भएकोले पहिलो त्रैमासिकमा घटेको अनुमान गरे।

“सामसङका सम्पूर्ण डीआरएएम चिप आपूर्तिमा एचबीएम चिपको हिस्सा पहिलो त्रैमासिकमा अलिकति घटेको हुनसक्छ, जसका कारण डीआरएएम नाफामा पनि गिरावट आएको देखिन्छ,” उनले भने। एचबीएम अर्थात् हाइ ब्याण्डविथ मेमोरी चिपहरू एआई चिपसेट बनाउन प्रयोग गरिन्छ।

एलएसईजी स्मार्टइस्टिमेटका अनुसार सामसङले जनवरीदेखि मार्च त्रैमासिकमा ५.२ ट्रिलियन वोन (३.६२ अर्ब डलर) सञ्चालन नाफा रिपोर्ट गर्ने अपेक्षा गरिएको छ। कम्पनीले अघिल्लो वर्षको यही अवधिमा ६.६ ट्रिलियन वोन नाफा गरेको थियो।

सामसङले आफ्ना अत्याधुनिक एचबीएम चिपहरूको पुनः डिजाइन गरी प्रमुख ग्राहकलाई आपूर्ति गर्ने प्रयास गरिरहेको भए पनि कमोडिटी चिपमा यसको अत्यधिक निर्भरता भएकाले मूल्य उतारचढावले यसको नाफा अझै जोखिमपूर्ण बनाएको विश्लेषकहरूले बताएका छन्।

स्मार्टफोन र पीसीमा प्रयोग हुने केही डीआरएएम चिपको मूल्य वार्षिक रूपमा पहिलो त्रैमासिकमा करिब २५ प्रतिशतले घटेको र डाटा स्टोरेजमा प्रयोग हुने एनएएनडी फ्ल्याश चिपको मूल्य झन्डै ५० प्रतिशतले घटेको ट्रेण्डफोर्सको तथ्यांकले देखाएको छ।

यसै कारण सामसङ पुनः एसके हाइनिक्स भन्दा कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। एसके हाइनिक्सले एआई चिपको बलियो मागको फाइदा उठाउँदै अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी नाफा कमाउने देखिएको एलएसईजीको तथ्यांकले देखाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा उसका व्यापार साझेदारहरूमाथि लगाइएको परस्पर करले सामसङ का स्मार्टफोन, टिभी, ल्यापटप र घरेलु उपकरणजस्ता विभिन्न उत्पादनहरूमा लागत वृद्धि गर्ने देखिएको छ।

“सामसङ ले दीर्घकालीन रणनीतिको रूपमा आफ्नो उत्पादन आधार विविध बनाउने प्रयास गर्नसक्छ… तर त्यो एक-दुई वर्षमा गर्न सकिने कुरा होइन,” केबी सेक्युरिटिजका अनुसन्धान प्रमुख जेफ किमले भने।

 

प्रकाशित: २६ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया