ट्रम्प प्रशासनले किन हटायो एनएसए र साइबर कमाण्डका प्रमुख टिमोथी हगलाई?

  • Technology Khabar | २५ चैत्र २०८१, सोमबार
ट्रम्प प्रशासनले किन हटायो एनएसए र साइबर कमाण्डका प्रमुख टिमोथी हगलाई?

काठमाडौं ।

ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र साइबर कमाण्डका प्रमुख टिमोथी हगलाई बर्खास्त गरेको छ।

दीर्घकालीन सैनिक अधिकारी हग सन् २०२४ को फेब्रुअरीमा पूर्वप्रमुखको अवकाशपछि नियुक्त भएका थिए। उनले अमेरिका मुख्य गोप्य सूचना सङ्कलन गर्ने एजेन्सी एनएसए र विदेशी प्रतिद्वन्द्वीहरूमाथि साइबर आक्रमण गर्ने सैन्य इकाई साइबर कमाण्ड दुवैको नेतृत्व गरेका थिए।

द वाशिङ्टन पोस्ट र द न्यूयोर्क टाइम्सका अनुसार, कट्टर दक्षिणपन्थी कार्यकर्ता लौरा लूमरले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा भएको भेटमा हगसहित केही अन्य राष्ट्रिय सुरक्षा अधिकारीहरूलाई हटाउन आग्रह गरेकी थिइन्। त्यसपछि यी बर्खास्तीहरू गरिएको बताइएको छ।

एनएसएकी उपनिर्देशक वेन्डी नोबललाई पनि हटाइएको रिपोर्टहरूमा उल्लेख गरिएको छ। उनी एजेन्सीको शीर्ष नागरिक नेतृत्वमा थिइन्। हग बर्खास्त भएसँगै अहिले एनएसए र साइबर कमाण्डको नेतृत्व को गरिरहेको छ भन्ने कुरा स्पष्ट भएको छैन।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले टिप्पणी गर्न अस्वीकार गर्दै रक्षा मन्त्रालयमा सम्पर्क गर्न सुझाएको टेकक्रञ्चले उल्लेख गरेको छ। एनएसएका प्रवक्ता एडी बेनेटले पनि कुनै प्रतिक्रिया दिन अस्वीकार गरे।

रक्षा मन्त्रालयका प्रवक्ताले भने, “हामीले रिपोर्टहरू देखेका छौँ, तर अहिले केही भन्न सक्ने अवस्थामा छैनौँ। आवश्यक जानकारी उपलब्ध भएपछि जानकारी दिनेछौँ।” यो बर्खास्तीको कदमले अमेरिकी कांग्रेसमा एनएसए हेर्ने वरिष्ठ सांसदहरूलाई समेत आश्चर्यमा पारेको देखिन्छ।

भर्जिनियाबाट निर्वाचित डेमोक्र्याट सिनेटर र सिनेट इन्टेलिजेन्स कमिटीका उपाध्यक्ष मार्क वार्नरले यसलाई “आश्चर्यजनक” भने। उनले भने, “जनरल हगले तीन दशकभन्दा बढी समय देशको सेवा गरिरहेका छन्। अहिले अमेरिका गम्भीर साइबर खतराको सामना गरिरहेको बेला, विशेष गरी चीनबाट भएको ‘साल्ट टाइफुन’ साइबर आक्रमणको सन्दर्भमा, यस्तो समयमा उनलाई हटाउनु कसरी अमेरिकालाई सुरक्षित बनाउँछ?”

वार्नरले यमनमाथि गरिएका हवाई आक्रमणसम्बन्धी गोप्य जानकारी सिग्नल ग्रुप च्याटमार्फत सञ्चारमाध्यममा पुगेको घटनामा संलग्न अधिकारीहरूमध्ये कुनैलाई पनि जिम्मेवार नठहराइ ट्रम्प प्रशासनले हगलाई हटाएकोमा आलोचना गरे।

प्रतिनिधिसभाको इन्टेलिजेन्स कमिटी अध्यक्ष डेमोक्र्याट सांसद जिम हाइम्सले पनि यो निर्णयप्रति “गहिरो चिन्ता” व्यक्त गरेका छन्।

यसअघि मार्चमा द वालस्ट्रीट जर्नलले ट्रम्प प्रशासनको डीओजीईका प्रमुख एलन मस्कले हगसँग एनएसएको मुख्यालय फोर्ट मीड, म्यारील्यान्डमा भेट गरेका रिपोर्ट गरेको थियो। त्यतिबेला एनएसएले बैठक प्रशासनसँग आफ्नो प्राथमिकता मिलाउन गरिएको बताएको थियो।

मस्कले पहिले एनएसएमा “ठूलो सुधार” आवश्यक रहेको भनेका थिए, तर उनले विस्तृत विवरण दिएका थिएनन्।

प्रकाशित: २५ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार