मेटाद्वारा नयाँ एआई मोडल एललामा ४ सार्वजनिक

Technology Khabar २४ चैत्र २०८१, आईतवार

काठमाडौं ।

मेटाले शनिबार आफ्नो नयाँ जेनेरेटिभ एआई मोडेलहरू एललामा ४ स्काउट र एललामा ४ माभेरिक सार्वजनिक गरेको छ। कम्पनीले यी मोडेलहरूलाई “हामीले अहिलेसम्म निर्माण गरेका सबैभन्दा उन्नत” र “मल्टिमोडालिटीमा आफ्नो श्रेणीका सर्वश्रेष्ठ” मोडेलहरू भनेको छ।

मेटाका अनुसार एललामा एउटा मल्टिमोडल एआई प्रणाली हो। यस्ता प्रणालीहरूले टेक्स्ट, भिडियो, फोटो र अडियोजस्ता विभिन्न प्रकारका सामग्री प्रशोधन गर्न र एउटाबाट अर्को ढाँचामा रूपान्तरण गर्न सक्छन्।

मेटाले एललामा ४ स्काउट र माभेरिक दुबै मोडेलहरू ओपन सोर्समा उपलब्ध गराउने जनाएको छ। साथै, कम्पनीले एललामा ४ बेहेमथ नामक अर्को मोडेलको पनि पूर्वावलोकन गरेको छ, जसलाई “दुनियाँकै सबैभन्दा स्मार्ट एलएलएममध्ये एक” र “हाम्रो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मोडेल” भनेर वर्णन गरिएको छ। यो मोडेल नयाँ मोडेलहरूको शिक्षकका रूपमा प्रयोग गरिने कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

ठूला प्रविधि कम्पनीहरूले ओपनएआई को च्याटजीपीटीको सफलतापछि एआई पूर्वाधारमा आक्रामक लगानी गर्दै आएका छन्। च्याटजीपीटी को आगमनले प्रविधि क्षेत्रलाई रूपान्तरण गरेको छ र मेसिन लर्निङमा लगानीको बहाव बढाएको छ।

विकासको क्रममा यो मोडेलले प्राविधिक सूचकांक, विशेष गरी तर्क र गणितसम्बन्धी कार्यहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका कारण मेटाले एललामा ४ को सार्वजनिक लन्च ढिलाइ गरेको द इन्फर्मेशनले शुक्रबार रिपोर्ट गर्दै लेखेको थियो।

मेटालाई एललामा ४ ले ओपनएआईका मोडेलहरूको तुलनामा मानिसजस्तै स्वर संवाद सञ्चालन गर्न नसक्ने चिन्ता पनि रहेको रिपोर्टमा थप भनिएको छ।

मेटाले यस वर्ष आफ्नो एआई पूर्वाधार विस्तार गर्न ६५ अर्ब डलरसम्म खर्च गर्ने योजना बनाएको छ। लगानीकर्ताहरूको दबाबबीच ठूला प्रविधि कम्पनीहरूले लगानीमा प्रतिफल देखाउनुपर्ने चाप बढिरहेको छ।

प्रकाशित: २४ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया