क्याल एआईका किशोर सह-संस्थापक यादेगारीलाई ४ जीपीए ल्याउँदा पनि १५ ओटा युनिभर्सिटीले किन अस्विकार गरे ?

  • Technology Khabar | २४ चैत्र २०८१, आईतवार
क्याल एआईका किशोर सह-संस्थापक यादेगारीलाई ४ जीपीए ल्याउँदा पनि १५ ओटा युनिभर्सिटीले किन अस्विकार गरे ?

काठमाडौं ।

क्यालोरी-ट्र्याकिङ एप क्याल एआईका हाई स्कुल किशोर सह-संस्थापक जाक यादेगारी ‘एक्स’ मा हाल कडा टिप्पणीको सामना गरिरहेका छन्। उनले १८ उत्कृष्ट कलेजहरूमा आवेदन दिएकोमा १५ बाट अस्वीकृत भएको खुलासा गरेपछि यो प्रतिक्रिया आएको हो।

यादेगारीका अनुसार उनले ४.० जीपीए प्राप्त गरेका थिए र एसीटी अर्थात् अमेरिकन कलेज टेस्टमा ३४ स्कोर गरेका थिए, जुन उच्च स्कोर मानिन्छ। उनी अस्वीकृत हुनुको मुख्य कारण उनको निबन्ध भएको उनलाई लागेको छ। सामाजिक सञ्जाल ‘एक्स’मा हजारौँ प्रयोगकर्ताहरूले पनि यही अनुमान गरेका छन्।

टेकक्रञ्चका अनुसार यादेगारी क्याल एआई नामक भाइरल एआई क्यालोरी-ट्र्याकिङ एपका सह-संस्थापक हुन्। उनले यो एप ३० मिलियन डलर वार्षिक आम्दानी गर्ने मार्गमा रहेको दावी गरेका छन्। यो दावीको पुष्टि हुन सकेको भने छैन। तर, एप स्टोर विवरण अनुसार १ मिलियन भन्दा बढी पटक डाउनलोड भएको छ र हजारौँ सकारात्मक समीक्षाहरू छन्।

क्याल एआई वास्तवमा यादेगारी को दोस्रो सफलता थियो। उनले आफ्नो पहिलो वेब गेमिङ कम्पनी १ लाख डलरमा बेचेका थिए।

यादेगारीलाई सुरुमा कलेज जाने इच्छा थिएन। उनले आफ्नो सह-संस्थापकसँग मिलेर सान फ्रान्सिस्कोको “ह्याकर हाउस” मा एउटा ग्रीष्म ऋतु बिताए, जहाँ उनीहरूले आफ्नो क्याल एआई को प्रोटोटाइप निर्माण गरे। उनले परम्परागत “कलेज ड्रपआउट टेक उद्यमी” बन्ने सोचेका थिए।

तर, ह्याकर हाउसमा बिताएको समयपछि उनले कलेज नगएमा उनले आफ्नो युवा जीवनको ठूलो हिस्सा गुमाउने महसुस गरे। त्यसैले उनले कलेज जाने निर्णय गरे। उनको निबन्धमा पनि यही कुराहरु रहेका छन्।

उनले आफ्नो निबन्ध पूरै एक्स मा पोस्ट गरे। निबन्धमा बारम्बार उनले पहिले कहिल्यै कलेज जाने योजना नगरेको कुरा उल्लेख गरेका छन्। उनले स्व-शिक्षित कोडरको रूपमा पैसा कमाएको अनुभव वर्णन गरे। उनले भेन्चर क्यापिटलिस्ट र मेन्टरहरूले उनलाई कलेज नगई स्टार्टअप निर्माण गर्न प्रेरित गरेका थिए।

तर, अन्ततः उनले “कलेजको बाटो अस्वीकार गर्दा पनि आफू ‘ड्रपआउट फाउन्डरको छविसहितको अर्को संरचनामा बाँधिएको रहेछु भन्ने महसुस गरे। शिक्षकहरूको सट्टा अब लगानीकर्ता र मेन्टोरहरूले मलाई एउटा मार्गतर्फ धकेलिरहेका थिए, जुन वास्तवमा मेरो आफ्नै मार्ग थिएन,” उनले लेखे।

कलेजले उनको कामलाई अझ उचाइमा लैजान मद्दत गर्नेछ भन्ने उनले महसुस गरे। त्यसैले उनले पुस्तकहरू र यूट्युबबाट मात्र नभई मानिसहरूबाट पनि सिक्न चाहन्थे।

उनको निबन्धको अन्तिमतिर उनले लेखे, “कलेजको माध्यमबाट म त्यो ठूलो समुदायको हिस्सा बन्नेछु, जसले मलाई अझ ठूलो, सकारात्मक प्रभाव पार्न सक्षम बनाउनेछ।”

उत्कृष्ट ग्रेड, टेस्ट स्कोर, र वास्तविक संसारमा हासिल गरेका उपलब्धिहरू भए पनि, उनी स्ट्यान्फोर्ड एमआईटी हार्भर्ड कोलम्बिया प्रिन्सटन ड्युक र कर्नेललगायतका विश्वविद्यालयहरूबाट अस्वीकृत भए। तर जर्जिया टेक, युनिभर्सिटी अफ टेक्सस र युनिभर्सिटी अफ मायामीले उनलाई स्वीकृति दिए।

उनको अस्वीकृतिको बारेमा लेखिएको ट्वीट २२ मिलियन भन्दा बढीले हेरेका छन्, २,७०० भन्दा बढी पटक पुनःट्वीट गरियो, र ३,६०० भन्दा बढी टिप्पणीहरू आए। धेरै टिप्पणीहरूले उनको निबन्धलाई अहंकारी भनेका छन् र यही कारण अस्वीकृति भएको तर्क गरेका छन्। केहीले भने कलेज भर्ना प्रणालीमै समस्या छ भन्दै आलोचना गरे।

तर, केही गहिरा टिप्पणीहरू अनुसार कलेजहरूले शिक्षाका लागि उत्साहित विद्यार्थी खोजिरहेका हुन्छन्, जसले स्नातक पूरा गर्ने सम्भावना बढी हुन्छ। तर, उनको निबन्धमा कलेज जान उनी स्वयं पूर्णरूपमा विश्वस्त छैनन् भन्ने झल्किन्थ्यो।

वाई कम्बिनेटरका ग्यारी टानले पनि एक्स मा प्रतिक्रिया जनाए। उनले यादेगारी लाई सुझाव त दिएनन्, तर आफू पनि धेरै विश्वविद्यालयहरूबाट अस्वीकृत भएको स्वीकार गरेका थिए। उनले लेखेका छन्, “मैले आयन र्याण्डको ‘द फाउनटेनहेड’ पढेपछि आफ्नो निबन्ध पुनःलेखें, त्यसैले अस्वीकृत भएँ।” (अन्ततः उनले स्ट्यान्फोर्डमा भर्ना पाएका थिए।)

यादेगारीले उनी अझै आफ्नो भविष्यको योजना बनाइरहेका बेला एक्स पोस्टको प्रतिक्रिया देखेर अचम्मित भएको बताएका छन्। उनले भने, “धेरै फरक दृष्टिकोणहरू देख्न पाइयो। तर, अन्ततः किन म अस्वीकृत भएँ भन्ने कुरा म कहिल्यै ठ्याक्कै जान्न सक्दिन। मेरो निबन्ध लेख्दा, भर्ना समितिले मलाई वास्तविक रूपमा हेरोस भन्ने मेरो आशा थियो, किनभने म जहिल्यै वास्तविक नै रहन चाहन्छु।”

यादेगारीले व्यावसायिक सफलता नै उनको १७ वर्षे जीवनको सबैभन्दा ठूलो उपलब्धि नभएको पनि स्वीकारे। उनले भने, “मलाई जीवन आर्थिक सफलतामात्र नभई यो सम्बन्धहरूको बारेमा हो, ठूलो समुदायको हिस्सा बन्ने बारेमा हो भन्ने महसुस भयो।”

प्रकाशित: २४ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार