Technology Khabar २४ चैत्र २०८१, आईतवार
काठमाडौं ।
स्पिनलञ्चले एकै पटक २५० ‘माइक्रोस्याटेलाइट’ कक्षमा पठाउने योजना सार्वजनिक गरेको छ।
कम्पनीले मेरिडियन स्पेस नामक नयाँ ब्रॉडब्यान्ड उपग्रह समूह निर्माण गर्ने घोषणा गरेको छ। स्पिनलञ्चका अनुसार, मेरिडियन स्पेस समूह साना ‘माइक्रोस्याटेलाइट’ हरूले बनेको हुनेछ, जसलाई एकै पटक २५० उपग्रहहरू बोकेर कक्षमा पठाउन सकिनेछ।
यस परियोजनालाई व्यावसायीकरण गर्न तथा उपग्रह विकास गर्नका लागि कङ्सबर्ग नानो एभियनिक्सले १२ मिलियन डलर लगानी गरेको छ। पहिलो परीक्षण प्रक्षेपण २०२६ मा गर्ने योजना छ।
स्पिनलञ्चले परीक्षण प्रक्षेपण आफ्नै रकेट-फ्लिङ्गिङ सेन्ट्रिफ्युज मार्फत गर्ने वा अन्य रकेट प्रयोग गर्ने भन्ने स्पष्ट भइसकेको छैन। कङ्सबर्ग डिफेन्स एण्ड एरोस्पेसका अध्यक्ष एइरिक लाईले मेरिडियन स्पेस समूह हाल बजारमा उपलब्ध भन्दा धेरै उच्च क्षमताको ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने बताए।
स्पिनलञ्चका सीईओ डेभिड रेनका अनुसार, नानो एभियनिक्स का साना तथा मोड्युलर उपग्रह प्लेटफर्महरूले तेज गतिमा यो परियोजना विस्तार गर्न मद्दत गर्नेछ।
स्पिनलञ्चले मेरिडियन स्पेस उपग्रहहरूको तस्वीर पनि सार्वजनिक गरेको छ, जहाँ यी उपग्रहहरू चिल्लो डिजाइनमा एकअर्काको माथि राखिएका देखिन्छन्। यसले कम्पनीले २५० उपग्रह एकै पटक पठाउने योजनाबारे संकेत गर्छ।
यदि स्पिनलञ्चले एकै प्रक्षेपणमा २५० उपग्रहहरू पठाउन सकेमा, यो अहिलेसम्मको सबैभन्दा धेरै उपग्रह प्रक्षेपण गर्ने नयाँ कीर्तिमान हुनेछ। हालसम्मको कीर्तिमान स्पेसएक्सको ट्रान्सपोर्टर-१ मिशन (२०२१) को नाममा छ, जसमा १४३ उपग्रह प्रक्षेपण गरिएको थियो।
स्पिनलञ्चले परम्परागत प्रक्षेपण सेवाहरूलाई चुनौती दिने लक्ष्य राखेको छ। कम्पनी ३३ मिटर लामो घुम्ने हात (स्पिनिङ आर्म) निर्माण गरिरहेको छ, जसले रकेटलाई तीव्र गतिमा घुमाएर आकाशमा फाल्नेछ।
त्यसपछि, रकेटले उच्च उचाइमा पुगेपछि आफ्नो इन्जिन प्रज्वलन गर्नेछ। यस प्रविधिले कक्षमा पुग्न आवश्यक इन्धन तथा हार्डवेयर घटाउने बताइएको छ।
नासाले २०२२ मा स्पिनलञ्चसँग प्रविधि परीक्षणका लागि सम्झौता गरेको थियो। सो क्रममा नासा, एयरबस तथा कर्नेल युनिभर्सिटीका प्रयोगहरू सेन्ट्रिफ्युज प्रविधिबाट उपकक्षीय अन्तरिक्षमा पठाइएको थियो।
प्रकाशित: २४ चैत्र २०८१, आईतवार