
काठमाडौं ।
केन्याको एक अदालतले फेसबुकको मूल कम्पनी मेटामाथि छिमेकी इथियोपियामा भएको जातीय हिंसालाई उक्साउने सामग्री प्रवर्द्धन गरेको आरोपमा मुद्दा चलाउन सकिने फैसला गरेको छ।
यो मुद्दा २०२०-२०२२ को इथियोपियाको टिग्रे युद्धमा फेसबुकमा गरिएको घृणास्पद पोस्टहरू सम्बन्धी रहेको छ। अदालतको यो फैसलाले मेटाले विश्वभर कसरी सामग्री समीक्षकहरूसँग काम गर्छ भन्ने विषयमा असर पार्न सक्छ।
रोयटर्सका अनुसार मेटाले केन्याली अदालतलाई यो मुद्दा सुन्ने अधिकार छैन भन्दै आफू त्यहाँ दर्ता नभएको तर्क गरेको थियो। तर केन्याको उच्च अदालतले बिहीबार उक्त तर्क अस्वीकार गरेको छ।
यो मुद्दाका वादीहरूमध्ये एक कटिबा इन्स्टिच्युटका कार्यकारी निर्देशक नोरा म्बागाथीले भने, “हाम्रो अदालतले यो विश्वव्यापी रूपमा महत्त्वपूर्ण मुद्दा छोड्न मानेन, घरेलु समस्याहरू स्थानीय रूपमा समाधान हुनुपर्छ भन्ने कुरा यसले देखाउँछ।”
मेटाका प्रवक्ताले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
वादीहरूका अनुसार फेसबुकको सिफारिस प्रणालीले टिग्रे युद्धको समयमा हिंसात्मक पोस्टहरू प्रवर्द्धन गर्यो।
वादी अब्राहम मेरागले आफ्नो बुवा मेराग अमारेको हत्या २०२१ मा फेसबुकमा आएका धम्कीपूर्ण पोस्टहरूकै कारण भएको आरोप लगाएका छन्। अम्नेस्टी इन्टरनेशनलका अनुसन्धानकर्ता फिसेहा टेक्लेले पनि मानव अधिकार सम्बन्धी काम गर्दा आफूले अनलाइन घृणाको सामना गर्नुपरेको बताएका छन्।
उनीहरूले मेटाले पीडितहरूका लागि क्षतिपूर्ति कोष स्थापना गर्नुपर्ने र फेसबुकको एल्गोरिदम परिवर्तन गरी घृणास्पद सामग्री प्रवर्द्धन गर्न नदिनुपर्ने माग गरेका छन्। मेटाले यसअघि सामग्री नियन्त्रणका लागि ठूलो लगानी गरेको र घृणास्पद सामग्री हटाउने काम गरेको बताएको थियो।
यो मुद्दा केन्यामा मेटाविरुद्ध परेको तेस्रो मुद्दा हो। यसअघि, स्थानीय ठेकेदारमार्फत कार्यरत सामग्री समीक्षकहरूले खराब कार्य अवस्था र श्रमिक संगठन बनाउन खोज्दा हटाइएको भन्दै मुद्दा हालेका थिए।
मेटाले आफ्ना साझेदारलाई उद्योगमै उत्कृष्ट कार्य अवस्था दिनुपर्ने भन्दै यी आरोप अस्वीकार गरेको छ।
मेटाले हजारौं सामग्री समीक्षकहरू नियुक्त गर्दै अर्बौं डलर लगानी गरेको थियो। तर यस वर्ष जनवरीमा अमेरिकी तथ्य-जाँच कार्यक्रम र स्वचालित घृणासूचक पोस्टहरू पहिचान गर्ने प्रणाली हटाउने निर्णय गरेको थियो। अब प्रयोगकर्ताले रिपोर्ट गरेपछि मात्रै यस्तो सामग्री समीक्षा गरिने बताइएको छ।
प्रकाशित: २३ चैत्र २०८१, शनिबार