अस्ट्रेलियाका ठूला पेन्सन कोषहरूमा कोअर्डिनेटेड साइबर आक्रमण, हजारौं एकाउन्टहरू प्रभावित

Technology Khabar २३ चैत्र २०८१, शनिबार

काठमाडौं ।

अस्ट्रेलियाका प्रमुख पेन्सन कोषहरूलाई लक्षित गर्दै भएको समन्वित साइबर आक्रमण अर्थात् कोअर्डिनेटेड साइबर अट्याकमा केही सदस्यहरूको बचत चोरी भएको छ भने २०,००० भन्दा बढी खाताहरू प्रभावित भएका एक स्रोतले जानकारी दिएको छ।

राष्ट्रिय साइबर सुरक्षा समन्वयकर्ता मिशेल म्याकगिनेसले अस्ट्रेलियाको ४.२ ट्रिलियन अस्ट्रेलियन डलर (२.६३ ट्रिलियन डलर) को सेवानिवृत्ति बचत क्षेत्र साइबर अपराधीहरूको निशानामा परेको बताउँदै सरकार, नियामक निकाय र उद्योगबीच समन्वय गर्दै प्रतिक्रिया दिइरहेको उल्लेख गरे।

एसोसिएसन अफ सुपरएन्युएसन फन्ड्स अफ अस्ट्रेलियाले सप्ताहन्तमा केही कोषहरू प्रभावित भएको जनाएको छ। हालसम्म अस्ट्रेलियनसुपर, अस्ट्रेलियन रिटायलमेन्ट ट्रस्ट, रेस्ट, इन्सिग्निया र होस्टप्लसले आक्रमणको पुष्टि गरेका छन्।

३६५ अर्ब अस्ट्रेलियन डलरको कोष व्यवस्थापन गर्दै ३.५ मिलियन सदस्यहरूको ख्याल राख्ने अस्ट्रेलियनसुपरले त्यसमा ६०० सदस्यहरूको पासवर्ड चोरी गरी खातामा पहुँच पुर्‍याएर ठगी प्रयास गरिएको पुष्टि भएको छ।

अस्ट्रेलियनसुपरका प्रमुख सदस्य अधिकारी रोज केर्लिनले “हामीले यी खाताहरू तत्काल लक गर्यौं र प्रभावित सदस्यहरूलाई जानकारी गरायौं” भन्दै सबै सदस्यलाई आफ्नो अनलाइन खाताको सन्तुलन जाँच गर्न आग्रह गरे।

चार सदस्यका खाताबाट जम्मा ५ लाख अस्ट्रेलियन डलर चोरी भई अन्य खातामा सारिएको छ।

३०० अर्ब अस्ट्रेलियन डलर व्यवस्थापन गर्दै २.४ मिलियन सदस्यहरूको ख्याल राख्ने अस्ट्रेलियन रिटायरमेन्ट ट्रस्टले केही सय खाताहरूमा असामान्य लगइन गतिविधि पत्ता लागेको बताउँदै ती खाताहरू लक गरिएको जनाएको छ। हालसम्म कुनै शंकास्पद कारोबार भएको छैन।

९३ अर्ब अस्ट्रेलियन डलर कोष व्यवस्थापन गर्दै २ मिलियन सदस्यहरूको ख्याल राख्ने रेस्ट सुपरले २०,००० खाताहरू प्रभावित भएको पुष्टि गरेको छ। यसका सीईओ बिकी डोयल ले “हामीले सदस्य पहुँच पोर्टल बन्द गरी अनुसन्धान थालेका छौं” भनेका छन्।

एमएलसी पेन्सन कोष सञ्चालन गर्ने इन्सिग्निया फाइनान्सियलले एक्स्पाण्ड र्याप प्लेटफर्मका १०० ग्राहक खातामा शंकास्पद लगइन गतिविधि पत्ता लागेको तर हालसम्म कुनै आर्थिक क्षति नभएको बतायो।

११५ अर्ब अस्ट्रेलियन डलरको कोष व्यवस्थापन गर्दै १.८ मिलियन सदस्यहरूको ख्याल राख्ने होस्टप्लसले आक्रमणको पुष्टि गरे पनि हालसम्म कुनै सदस्यको रकम हराएको छैन। अनुसन्धान जारी छ।

रोयटर्सका अनुसार प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस घटनाबारे जानकारी पाएको र सरकारको “व्यवस्थित प्रतिक्रिया” आउने बताएका छन्। उनले अस्ट्रेलियामा हरेक ६ मिनेटमा एक साइबर आक्रमण हुने बताए।

विपक्षी साइबर सुरक्षा मन्त्री जेम्स पाटरसनले पीडित सदस्यहरूलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

अस्ट्रेलियामा यसअघि सेन्ट भिन्सेन्ट्स हेल्थ, मेडिब्याङ्क र ओप्टसजस्ता ठूला संस्थाहरूमा पनि गम्भीर डाटा लीक भएका घटनाहरू भइसकेका छन्।
सरकारले २०२३ मा साइबर सुरक्षाका लागि ५८७ मिलियन अस्ट्रेलियन डलर बजेट छुट्याएर सातवर्षे रणनीति घोषणा गरिसकेको छ।

प्रकाशित: २३ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया