ट्रम्पको करका कारण चीनमा आईफोनको मूल्य २,३०० अमेरिकी डलर पुग्न सक्ने

Technology Khabar २३ चैत्र २०८१, शनिबार

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको कारणले अब आईफोन अझ धेरै महँगो हुने भएको छ।

नयाँ अमेरिकी ट्यारिफ (कर)का कारण ठूला टेक स्टकहरू प्रभावित भएका छन्। एप्पलले लगभग ८ प्रतिशत गुमाउँदै सबैभन्दा बढी प्रभावित भएका कम्पनीहरू मध्ये एक बनेको छ।

कम्पनीले आफ्ना धेरैजसो फोनहरू चीनमा उत्पादन गर्दछ, जुन ५४ प्रतिशत करको मारमा परेको स्काईन्यूजले रिपोर्ट गरेको छ।

अब एप्पलले नयाँ शुल्कहरू पूर्ण रूपमा उपभोक्ताहरूलाई हस्तान्तरण गर्नेछ कि गर्दैन भन्ने प्रश्न खडा भएको छ। यदि कम्पनीले त्यसो गर्ने निर्णय गरेको खण्डमा भने, नयाँ आईफोनहरूको मूल्य ३०–४० प्रतिशत बढी हुन सक्ने विश्लेषकहरूले उल्लेख गरेको छन्।

यसले गर्दा अब हाल १,५९९ अमेरिकी डलरमा बिक्री गरिने आईफोन १६ प्रो म्याक्स (१ टेराबाइट स्टोरेज र ६.९ इन्च डिस्प्ले भएको) को मूल्य लगभग २,३०० अमेरिकी डलर पुग्ने छ।

विश्वको सबैभन्दा मूल्यवान कम्पनीहरू मध्ये एकको रूपमा रहेको एप्पलका साथै एनभिडिया र अमेजन जस्ता अन्य जायन्टहरूको आम्दानीमा भएको कमीले शेयरधनीहरूको लागि मूल्यमा ठूलो घाटा पुर्याएको उल्लेख छ।

एस एन्ड पी ५०० सूचकांक बनाउने कम्पनीहरूले शेयर बजार मूल्यमा १.८ ट्रिलियन डलरको संयुक्त घाटा देख्ने ट्रयाकमा रहेको बताइएको छ।

सन् २०२० को मार्चमा कोभिड–१९ महामारीले विश्वव्यापी बजारमा ठूलो गिरावट ल्याएको भन्दा यो घाटा एस एन्ड पी ५०० को लागि एक दिनको इतिहासमा चौथो ठूलो हुने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २३ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया