
काठमाडौं ।
अमेजनले किण्डल प्रयोगकर्ताहरूलाई पुस्तकका कथावस्तुहरू र पात्रहरूको यात्रा सम्झन मद्दत गर्न नयाँ “रिक्याप्स” फिचर प्रस्तुत गरेको छ। यो फिचर विशेष रूपमा शृङ्खलाका नयाँ पुस्तक पढ्नुअघि अघिल्लो पुस्तकहरूको सार बुझ्नका लागि डिजाइन गरिएको हो।
कम्पनीको प्रेस विज्ञप्तिमा एआईको उल्लेख नभए पनि अमेजनले रिक्याप्स फिचर एआई-जनित भएको पुष्टि गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।
“हामी पुस्तकरूको सामग्री सही रूपमा प्रतिबिम्बित गर्ने छोटो सारांशहरू तयार गर्न जेनेरेटिभ एआईसहित विभिन्न प्रविधिहरू र अमेजनका मोडरेटरहरू प्रयोग गर्छौं,” अमेजनकी प्रवक्ता एले इराहेटाले इमेल मार्फत जानकारी दिएकी छिन्।
तर केही प्रयोगकर्ताहरूले रेडिटमा यो फिचरको विश्वसनीयता र एआई प्रयोगबारे चिन्ता व्यक्त गरेका छन्। यद्यपि अमेजनले यी सारांशहरू सही हुने आश्वासन दिएको बताइएको छ।
अहिले किण्डल उपकरण प्रयोग गर्ने अमेरिकी प्रयोगकर्ताहरूले आफूले किनेका वा उधारो लिएका हजारौं लोकप्रिय अंग्रेजी शृङ्खलाका पुस्तकहरूको संक्षिप्त सारांश हेर्न सक्नेछन्। चाँडै नै यो फिचर किण्डलको आईओएस एपमा पनि उपलब्ध हुनेछ।
रिक्याप्स हेर्नका लागि प्रयोगकर्ताले किण्डलको सबैभन्दा पछिल्लो सफ्टवेयर अपडेट गर्नुपर्छ। कुनै शृङ्खलाका लागि यो सुविधा उपलब्ध छ कि छैन भन्ने थाहा पाउन, किण्डल लाइब्रेरीको शृङ्खला पृष्ठमा “भ्यू रिक्याप्स ” बटन खोज्न सकिन्छ वा शृङ्खला समूहको तीन-डट मेनुबाट “भ्यू रिक्याप्स” विकल्प छान्न सकिन्छ।
सारांश पढ्नुअघि प्रयोगकर्तालाई कथाका प्रमुख मोडहरू र पात्रहरूबारे स्पोइलर हुनसक्ने चेतावनी दिइन्छ। सहमति दिएपछि, उनीहरूलाई सो पुस्तकको संक्षिप्त सारांश हेर्न मिल्नेछ।
” रिक्याप्स फिचरले शृङ्खला पढ्ने अनुभवलाई अझ सहज बनाउनेछ। यसले पाठकहरूलाई जटिल कथाहरू र पात्रहरूमा अझ गहिराइमा डुब्न सहायता पुर्याउँछ, जसले गर्दा कुनै पनि विधामा निर्बाध पढाइ अनुभव मिल्छ,” अमेजन ले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ।
अमेजन का अनुसार, यो सुविधा एपिक फ्यान्टेसीदेखि मिस्ट्री थ्रिलर सम्मका विभिन्न लोकप्रिय शृङ्खलाहरूका लागि उपलब्ध हुनेछ।
प्रकाशित: २३ चैत्र २०८१, शनिबार