Technology Khabar २० चैत्र २०८१, बुधबार
काठमाडौं ।
दुबईबाट नेपाल आउने यात्रुहरूलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली गरेको आरोपमा पसल सञ्चालकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुबईबाट सामान मगाई पसल सञ्चालन गर्ने मोरङको विराटनगर उपमहानगरपालिका–१५ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ३० वर्षीय रसिद आलम रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
त्यस्तै दुबईबाट सामान ल्याउने महोत्तरीका २८ वर्षीय राकेश गिरी, पाल्पाका ४१ वर्षीय ताराबहादुर रेस्मीमगर र पाँचथर घर भएकी ३५ वर्षीया कमला फिया तथा सामान लिने मकवानपुर घर भई काठमाडौँको सीतापाइला २६ वर्षीय चित्रबहादुर मल्ल ठकुरी, मकवानपुर घर भई सीतापाइला बस्ने २४ वर्षीय हुकुमबहादुर मल्ल र उदयपुर घर भई हाल बौद्ध बस्ने ३१ वर्षीय सुमित केसी रहेका छन्।
दुबईबाट नेपाल आउने यात्रुहरूलाई ल्यापटप र मोबाइल १/१ थान गरी नेपाल पठाउने र एक जना यात्रुले १/१ थान ल्यापटप र मोबाइल ल्याउँदा भन्सार छुट हुने प्रावधान रहेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीकाअनुसार धेरै जना व्यक्तिहरूलाई १/१ थान ल्यापटप र १/१ थान मोबाइल ल्याउन लगाई भन्सार छली चोरी तस्करी भइरहेको भन्ने सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन्।
सोही विषयमा अनुसन्धान गर्दै जाँदा चैत १८ गते सोमबार दुबईका विभिन्न उडानद्वारा नेपाल अवतरण भएका ३ जना यात्रुहरू मार्फत १/१ थान ल्यापटप र मोबाइल लिई आएका यात्रुहरूलाई गौशाला बत्तिसपुतलीबाट सामानसहित नियन्त्रणमा लिइएको हो।
उनीहरूले ल्याएका सामानहरू लिनका लागि आएका अन्य ३ जनालाई समेत सोही स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
सामान लिन आउने व्यक्तिहरूको प्रारम्भिक अनुसन्धान गर्दा उल्लेखित सामानहरू न्युरोडको संकटा मन्दिर नजिक एलिटेड सप्लायर्स प्रालि (Alited Suppliers Pvt. Ltd.) नामको ल्यापटप पसल सञ्चालन गरी बस्ने रसिद आलमले ल्याएको भन्ने खुलेको उपरीक्षक जिसीको भनाई छ। प्रहरीका अनुसार उनले यसअघि पनि धेरै पटक यसरी सामान ल्याउने गरेका थिए।
आलमको पसल तथा स्टोरमा खानतलासी गर्दा बिल बिजक नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाइल बरामद गरिएको थियो।
यसैगरी उनीहरुको साथबाट डेलl कम्पनीको ल्यापटप ७२ थान, एप्पलको कम्पनीको आईफोन १६ प्रो म्याक्स एक थान र आईफोन १३ प्रो म्याक्स ४ थान समेत बरामद गरिएको छ।
नियन्त्रणमा लिइएका ७ जनालाई बरामद गरिएका सामानसहित थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको जनाएको छ।
यसैगरी अन्य स्रोतकाअनुसार उनले आलम टेक नाममा वेबसाइट बनाई उक्त अवैधरुपमा भन्सार छलेर ल्याईएका ल्यापटप तथा वस्तुहरुको कारोबार समेत गर्ने गरेका छन्।
प्रकाशित: २० चैत्र २०८१, बुधबार