सरकारी विवादका कारण अमेरिका र यमनमा यो हप्ता सिग्नल डाउनलोड ह्वात्तै बढ्यो

Technology Khabar १६ चैत्र २०८१, शनिबार

काठमाडौं ।

ईन्क्रिप्टेड मेसेजिङ एप सिग्नलप्रति यो हप्ता प्रयोगकर्ताको ध्यान अप्रत्याशित रुपमा आकर्षित भएको छ। उपराष्ट्रपति जे. डि. भान्स र रक्षा सचिव पीटर हेगसेथसहितका ट्रम्प प्रशासनका उच्च पदाधिकारीहरू यमनी हूथीहरूमा आक्रमणको योजना सिग्नलको सम्भवत: अनधिकृत ग्रुप च्याटमा सञ्चार गरिरहेका थिए।

तर एटलान्टिकका पधान सम्पादक जेफ्री गोल्डबर्ग च्याटमा गल्तीले थपिएका थिए, जसका कारण उनलाई यी अत्यन्त संवेदनशील छलफलहरूमा पहुँच प्राप्त भयो, जसलाई उनले पछि प्रकाशित गरे।

टेकक्ञ्चका अनुसार सिग्नल एप आफैंले कुनै गल्ती गरेन वा अवैध तरिकाले काम गरेन। बरु एउटा पत्रकारलाई अमेरिकी सैन्य योजनाहरूको च्याटमा अनिच्छित रूपमा थप्नु प्रयोगकर्ता त्रुटि हो। सुरक्षा प्रोटोकलहरू वास्तवमै पालना गरिएका थिए भने यस्तो गल्तीलाई सरकारी सुरक्षा प्रोटोकलहरूले रोक्न सक्नुपर्थ्यो।

एप इन्टेलिजेन्स कम्पनी एपफिगर्सका अनुसार एटलान्टिकको समाचार सोमबार प्रकाशित भएपछि सिग्नलको डाउनलोड दुनियाँभरि आईओएस र गुगल प्लेस्टोरमा पछिल्ला ३० दिनको दैनिक औसतभन्दा २८ प्रतिशतले बढेको थियो।

सोमबार सिग्नलको डाउनलोड अमेरिकामा ४५ प्रतिशतले र यमनमा ४२ प्रतिशतले बढेका थिए। विवादअघि, सिग्नल यमनमा सोसल मिडिया एप्समा ५० औं स्थानमा थियो तर सोमबार यो ९ औं स्थानमा पुगेको थियो।

सिग्नलले यसमा कुनै प्रतिक्रिया नजनाएको टेकक्रञ्चले उल्लेख गरेको छ।

सिग्नलमा सबै सञ्चार ईन्क्रिप्टेड हुन्छन्, जसको मतलब च्याटमा रहेका व्यक्तिहरूले मात्र कन्टेन्टहरू देख्न सक्छन् । सिग्नलका कर्मचारीहरूले पनि प्रयोगकर्ताहरू के कुरा गरिरहेका छन् भन्ने थाहा पाउन सक्दैनन्।

सिग्नल च्याटमा “युद्ध योजनाहरू” छलफल गरिएको छैन भनेर हेगसेथले भनेका पनि एटलान्टिकले ‘हेगसेथले आक्रमणको समय, प्रयोग हुने हतियार र विमानको बारेमा विवरण दिएका’ बारे मेसेजहरू प्रकाशित गरेको छ।

बिहीबारसम्म, सरकारले यस महत्वपूर्ण सुरक्षा असफलताको अनुसन्धान जारी राखेको जनाइएको छ।

 

 

 

प्रकाशित: १६ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया