आईफोन १६ सिरिज इन्डोनेसियामा अप्रिल ११ देखि उपलब्ध हुने पुष्टि

Technology Khabar १६ चैत्र २०८१, शनिबार

काठमाडौं ।

एप्पलले इन्डोनेसियामा आफ्नो आईफोन १६ सिरिजमाथि लगाइएको प्रतिबन्ध चार महिनाभन्दा बढी समय लाएर समाधान गरेको छ। एप्पलको आईफोनहरू अप्रिल ११ (शुक्रबार) देखि इन्डोनेसियामा उपलब्ध हुनेछन् भनि क्युपर्टिनोले पुष्टि गरेको छ। यसमा आईफोन १६, १६ प्लस, १६ प्रो, १६ प्रो म्याक्स र हालसालै लन्च गरिएको आईफोन १६ई समावेश रहेका छन्।

रोयटर्सका अनुसार एप्पलले पहिले रिपोर्ट गरेको १ अर्ब डलरको सट्टा ३०० मिलियन डलरको लगानी गर्ने प्रतिबद्धतामा सहमति जनाएको छ। एप्पलले राम्रो सम्झौता प्राप्त गरेको हो वा यो ३०० मिलियन (३० करोड) डलरको अन्तरिम आंकडा भविष्यमा बढ्न सक्छ भन्ने बरेमा स्पष्टता नभएको बताइएको छ।

इन्डोनेसियामा डोमेस्टिक कम्पोनेन्ट लेभल (टीकेडीएन) प्रमाणीकरणको भागको रूपमा स्थानीय रूपमा सञ्चालन गर्नको लागि विदेशी कम्पनीहरूलाई ४० प्रतिशत स्थानीय सामग्री प्रदान गर्न आवश्यक पर्ने प्रावधान रहेको छ।

कम्पनीहरूले स्थानीय रूपमा उत्पादनहरू उत्पादन गरेर, स्थानीय रूपमा सफ्टवेयर विकास गरेर वा अनुसन्धान र विकास केन्द्रहरू स्थापना गरेर ती आवश्यकताहरू पूरा गर्न सक्छन्।

इन्डोनेसियाले गत अक्टोबरमा क्युपर्टिनोको लगानी योजना पूरा नभएको कारणले गर्दा आईफोन १६ सिरिजका फोनहरूको बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको थियो। त्यो घटना लामो वार्ताको खेलमा परिणत भएको बताइएको छ जहाँ एप्पलले आफ्नो लगानी प्रतिबद्धताहरू बढाउँदै गएको र रिपोर्टहरू अनुसार यो १ अर्ब डलरसम्म हुन सक्छ भनि उल्लेख गरिएको छ।

इन्डोनेसियाली सरकारले प्रतिबन्ध हटाउन एप्पलले स्थानीय रूपमा आईफोनहरू उत्पादन गर्न जोड दिएको उल्लेख छ। तर इन्डोनेसियाली सरकारको उक्त अनुरोध पूरा नहुने जस्तो देखिएको छ।

एप्पलले त्यसको सट्टा एप्पल एयरट्याग ट्र्याकरहरूको लागि उत्पादन सुविधा र सामानहरूको लागि छुट्टै कारखाना स्थापना गर्ने बताइएको छ। साथै क्युपर्टिनोले थप अनुसन्धान र विकास केन्द्रहरू स्थापना गर्ने र विद्यार्थीहरूको लागि स्थानीय एकेडेमीहरूमा लगानी गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

 

प्रकाशित: १६ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया