Technology Khabar १४ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
नेपालमा राउटरको आयात उल्लेख्य मात्रामा बढ्ने प्रवृत्तिले फागुन महिनामा पनि निरन्तरता पाएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ अर्ब २५ करोड ४८ लाख ७२ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ४ लाख ८७ हजार ३२० थान राउटर आयात भएको विवरणमा उल्लेख छ।
माघ महिनासम्म नेपालमा १ अर्ब १० करोड ३८ लाख ८८ हजार रुपैयाँ बराबरको ४ लाख ३० हजार ४५५ थान राउटर आयात भएकोमा एक महिनाको अवधिमा १५ करोड ९ लाख ८४ हजार रुपैयाँ बराबरको ५६ हजार ८६५ ले बढेर समग्रमा राउटर आयातको सङ्ख्या ४ लाख ८७ हजार ३२० थान पुगेको छ।
सरकारले उक्त परिमाणको राउटर आयातबाट यो अवधिमा २३ करोड ३५ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १३ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट १ अर्ब १९ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको ४ लाख ६८ हजार ९१० थान राउटर आयात भएको छ। यसैगरी ताइवानबाट ६१ लाख ९३ हजार बराबरको ९०१ थान, भारतबाट २८ हजार बराबरको १०१ थान, भियतनामबाट ५ करोड ४९ लाख ३७ हजार बराबरको १७ हजार ३४७ थान र इटलीबाट २ लाख ४२ हजार बराबरको ५० थान राउटर आयात भएको छ।
यसैगरी पोर्चुगलबाट ३ लाख ७५ हजार रुपैयाँ बराबरको २ थान, अमेरिकाबाट ६७ हजार बराबरको २ थान, सिंगापुरबाट २ हजार बराबरको १ थान, फ्रान्सबाट २ लाख ५४ हजार बराबरको २ थान तथा क्यानडा, हङकङ, मेक्सिको र कतारबाट समान १-१ राउटर आयात भएको छ जसको मूल्य शून्यदेखि २ लाख ८३ हजारसम्म रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: १४ चैत्र २०८१, बिहीबार