पपुवा न्यू गिनीमा फेसबुक प्रतिबन्धित

Technology Khabar १४ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

पपुवा न्यू गिनी सरकारले हेट स्पिच (घृणायुक्त भाषण), मिसइन्फर्मेसन (गलत सूचना), पोर्नोग्राफी र “अन्य हानिकारक कन्टेन्ट” (सामग्री) लाई नियन्त्रण गर्न “परीक्षण” को रूपमा वर्णन गर्दै सामाजिक सञ्जाल फेसबुकलाई ब्लक गरेको छ।

देशको आतंकवाद विरोधी कानून अन्तर्गत गरिएको यो परीक्षण सोमबार बिहान सुरु भएको र मंगलबार पनि जारी रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

देशभर फेसबुक प्रयोगकर्ताहरूले प्लेटफर्ममा पहुँच गर्न असमर्थ भएको र प्रतिबन्ध कति समयसम्म रहनेछ भन्ने कुरामा स्पष्टता नभएको उल्लेख छ।

सरकारको यो कदम सोमबारेको “परीक्षण” भन्दा पहिले घोषणा नगरिएको बताइएको छ जसलाई विपक्षी सांसदहरू र मिडिया कार्यकारीहरूले “निरंकुशता” र “मानवअधिकार उल्लङ्घन” भनेर वर्णन गरेका छन्।

यो पहल फेसबुक जस्ता सामाजिक सञ्जालहरूको “जिम्मेवार प्रयोग” सुनिश्चित गर्न, “हार्मफुल कन्टेन्ट” (हानिकारक सामग्री) लाई सार्वजनिक बहसबाट बाहिर राख्नको लागि हो भनि एक विज्ञप्तिमा, पपुवा न्यू गिनीका प्रहरी मन्त्री पिटर सियामालिलीले बताएका छन्।

“फेसबुक जस्ता प्लेटफर्महरूमा फेक न्यूज (झुठो समाचार), हेट स्पिच (घृणायुक्त भाषण), पोर्नोग्राफी, बाल शोषण र हिंसाको लागि उक्साउने अनियन्त्रित प्रसार अस्वीकार्य छ। यी चुनौतीहरूले हाम्रो जनसंख्याको सुरक्षा, मर्यादा र कल्याणलाई बढ्दो रूपमा खतरामा पारिरहेका छन्” उनले उल्लेख गरे।

लगभग १३ लाख प्रयोगकर्ताहरूको साथ फेसबुक पपुवा न्यू गिनीमा सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल भएको बताइएको छ। उक्त संख्या देशको अनुमानित २६ लाख इन्टरनेट प्रयोगकर्ताहरूमध्ये आधा भएको उल्लेख गरिएको छ।

पपुवा न्यू गिनीमा राजनीतिक र सामाजिक मुद्दाहरूमा छलफल गर्नका लागि धेरै सक्रिय फोरमहरूले फेसबुकको प्रयोग गर्ने भएकाले यो प्लेटफर्म देशमा सार्वजनिक बहसको लागि एक प्रमुख उपकरण भएको उल्लेख गरिएको छ।

विशेष गरी हालै देशमा आदिवासी हत्याको लहरलाई ध्यानमा राख्दै, गलत सूचना फैलाएकोमा प्लेटफर्मलाई दोष दिँदै सरकारले फेसबुकको अत्यधिक आलोचना गर्दै आएको छ।

सन् २०२३ मा “मिडिया डिसइन्फर्मेसन” मा संसदीय अनुसन्धानको घोषणा गरेपछि, देशले लामो समयदेखि फेसबुक विरुद्ध कदम चाल्ने धम्की दिँदै आएको उल्लेख छ।

पपुवा न्यू गिनी मिडिया बोर्डका अध्यक्ष नेभिल चोईले स्थानीय पत्रिका द पोस्ट–कुरियरलाई यो कदम “राजनीतिक निरंकुशता र मानव अधिकार दुरुपयोगको सीमाना” हो भनि बताएको र यस प्रतिबन्धले पपुवा न्यू गिनीमा नकारात्मक प्रतिक्रिया बटुलेको उल्लेख गरिएको छ।

त्यसैगरी पपुवा न्यू गिनीका विपक्षी सांसद एलन बर्डले यो उपायलाई “कठोर” भनेर वर्णन गरेका छन्।

“हिजो प्रहरी मन्त्रीले फेसबुक बन्द गर्न आतंकवाद विरोधी कानून प्रयोग गरे, यो केवल एक परीक्षण थियो, यो पहिलो कदम थियो” भनि उनले बताएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १४ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया