
काठमाडौं ।
भिभोले अन्ततः बोआओ फोरम फर एसियामा आफ्नो मिक्स्ड रियालिटी (एमआर) हेडसेट ‘भिजन’ अनावरण गरेको छ।
पहिलो झलक/नजरमा, भिभो भिजन एमआर हेडसेट एप्पलको हेडसेटसँग उल्लेखनीय रूपमा मिल्दोजुल्दो देखिने बताइएको छ। यस हेडसेटमा उही स्की गगल–शैलीको डिजाइन रहेको छ जसको अगाडि रहेको स्लिक, कालो ग्लासले अगाडिको भाग कभर (छोपिएको) गरिएको छ।
त्यसैगरी हेडसेटको बडी भित्र र अगाडिको ग्लास भित्र क्यामराहरू पनि देख्न सकिने बताइएको छ। यी क्यामराहरू सम्भवतः मोसन ट्र्याकिङ र ह्याण्ड गेस्चर (हातको इशारा) पहिचान गर्नको लागि प्रयोग गरिनेछ।
भिभोको एमआर हेडसेट र एप्पलको भिजन प्रो बीच धेरै समानताहरू देखा परेका छन्। जस्तै, भिभोको एमआर हेडसेट पनि छुट्टै ब्याट्री प्याकको साथ आउने बताइएको छ जुन प्रयोग गर्दा बोक्नु पर्नेछ। ब्याट्रीलाई हेडसेटमा लिङ्क गर्ने चुम्बकीय कनेक्टरमा पनि एप्पलको जस्तै नब जस्तो डिजाइनमा देखिएको बताइएको छ।
अहिलेको लागि, डिभाइसको यो केवल पहिलो झलक भएको हुनाले भिभोले हेडसेटको बारेमा पूर्ण जानकारी वा सफ्टवेयर विवरणहरू साझा नगरेको बताइएको छ। कम्पनीले प्रोटोटाइप आधिकारिक रूपमा सन् २०२५ को मध्यमा अनावरण गर्ने बताएको छ।
भिभोले भिजोन हेडसेटलाई रियाल–टाइम स्पासियल कम्प्युटिङतर्फ ठूलो फड्क्को रूपमा राखिरहेको छ। यो कदमले भविष्यको उपभोक्ता रोबोटिक्स एप्लिकेसनमा प्रमुख भूमिका खेल्ने बताएको छ।
हेडसेटको साथसाथै, भिभोले चीनमा नयाँ रोबोटिक्स प्रयोगशाला स्थापनाको पनि घोषणा गरेको छ। उक्त प्रयोगशालाले एआई–ड्रिभन इमेजिङ र लार्ज मोडेल लर्निङ (सिकाइ) विकासमा ध्यान केन्द्रित गर्ने बताइएको छ जुन कम्पनीले भविष्यका रोबोटहरूको “मस्तिष्क” र “आँखा” निर्माणमा योगदान पुर्याउने आशा राखेको छ।
त्यसैगरी भिभोले आफ्नो हेडसेटको बारेमा मौन भए पनि कम्पनीले अप्रिलमा भिभो एक्स२०० अल्ट्राको लन्चको पुष्टि गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ चैत्र २०८१, बिहीबार