खल्तीको नाममा स्क्याम: तपाईँलाई पनि बोनस पाएको फोन आएको त छैन? डिजिटल ठगीमा परिएला!

Technology Khabar १२ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

– साजन सुवेदी

डिजिटल वालेट खल्तीका नाममा स्क्याम धन्दा चल्न थालेको छ। खल्ती काठमाडौं नामको फोन नम्बरबाट कोड मेसेज गरेर त्यही नम्बरबाट सम्बन्धित व्यक्तिलाई कल गरेर ३७००१ शर्टकोडमा मेसेज फरवार्ड गराउन लगाउने गरेको पाइएको छ।

कार्यालयमा काम गर्दैगर्दा ३ बजेको आसपास ‘खल्ती काठमाडौं’ नामबाट फोन आयो। प्रविधि क्षेत्रको सञ्चार संस्थामा आवद्ध रहेर पत्रकारिता गरिरहेकोले खल्तीको नामबाट आएको फोन उठाउन धेरै सोच्नुपरेन।

फोन उठाएपछि फोन गर्ने व्यक्तिले भने, नमस्कार, म खल्तीबाट बोलेको। तपाईँले यो नम्बरबाट खल्ती चलाउनुहुँदोरहेछ, सबैका लागि खल्ती सधैंका लागि खल्ती स्कीमअन्तर्गत तपाईँले ३९९९ रुपैयाँ बोनस प्राप्त गर्नुभएको छ। तपाईँलाई हामीले मेसेजमा एउटा कोड पठाएका छौं त्यो कोड ‘यो कल नकाटीकन’ ३७००१ मा पठाउनुहोस्। त्यसपछि हामी बोनस एक्टिभेट गरिदन्छौं।’

फोन आएको नम्बर थियो ९७०७८४७४६३। यो नम्बर ट्रुकलरमा खल्ती काठमाडौं भन्ने नाम देखाएकाले उठाएको थिएँ।

आफ्नै कामको धुनमा रहेको र समाचारका खाका बनाइरहेका बेला आएको अनावश्यक फोनले मुड गिजोल्यो मात्र र यसलाई पन्छाउने उद्देश्यले भनिदिएँ, ‘यो कुनै स्क्याम कल त होइन नि? हिजोआज त स्क्याम कलको बिगबिगी छ। म त टेक्नोलोजीमै लेख्दै आएको पत्रकार हुँ, स्क्याम कल रहेछ भने त फस्यौ भाई तिमी।’

यति भनेपछि उताबाट उक्त व्यक्तिले भन्यो, ‘एस्क्याम होइन दाई, खल्तीको आधिकारिक नम्बरबाट बोलिरहेछु। यति सुनेपछि ‘कल नकाटी होइन कल काटेर मेसेज चेक गरेर ३७००१ मा पठाएर कल गर्छु’ भनें। उसले हुन्छ भन्यो।

मेसेज हेरें, विशेषगरी बलियो पासवर्ड बनाउने क्रममा झैं अङ्रेजीका साना र ठूला केसका (अल्फान्युमेरिक) थुप्रै अंक र अक्षरका  साथै स्पेशल क्यारेक्टर पनि प्रयोग भएको लामो कोड थियो। शुरुमा भने KH लेखिएको थियो। शायद ‘खल्ती’ को आधिकारिक हो भन्ने बुझाउन खोजेको हुन सक्छ।

मैले मेसेज खोलेर हेरे पनि कपी वा फरवार्ड केही गरिनँ। प्रहरीकोमा वा कुनै नियामक निकायमा जानुपर्यो भने प्रमाण हुन्छ भनेर मैले डिलिट पनि गरिनँ।

स्क्याम हो कि साँच्चै हो साथै यो नम्बर नेपाल टेलिकम वा एनसेल कुनको हो भनेर पक्का गर्न १९७ मा फोन गरें। उताबाट नेपाल टेलिकमको पनि ९७ को नम्बर चलेको तर ९७० बाट शुरु नहुने जवाफ आयो। यस हिसाबले यो पक्का पनि एनसेलको नम्बर भएको निर्क्योल गरें तर एनसेलको कार्यालयमा फोन भने गरिनँ।

बेलाबेला २५ लाखको चिट्ठा, मोबाइलको नम्बर छानिएर कहिल्यै नभरेको र नाम नसुनेको कम्पनीको विशाल नगद उपहार पाएको फोन, एसएमएस तथा ईमेल आइरहने हुँदा ३९९९ रुपैयाँले खासै तान्न नसके पनि ‘यो कल नकाटीकन’ भन्ने शब्दले तान्यो।

प्रवधिका क्षेत्रमै कलम चलाउँदै आउनेलाई त यस्तो कल आउँछ भने सर्वसाधारणलाई झन कति यस्ता कल गएका होलान् भन्ने चिन्ताले यो विषयमा अझै गहिरिन मन लाग्यो।

आफैं प्रविधिसम्बद्ध समाचार पोर्टलका लागि रातदिन समाचार लेख्ने भएकाले साथै अनलाइन नै बसेर ओटीपी प्रयोग गराएर, अनलाइनमै बसेर आएको मेसेज फरवार्ड गराएर विभिन्न स्क्यामरहरुले थुप्रै व्यक्तिका बैकखाता लगायत व्यक्तिगत विवरण ह्याक गरेर लाखौं रुपैयाँ ठगेका समाचार तथा जानकारी सामाजिक सञ्जाल, प्रहरीका प्रेस विज्ञप्तिहरुमा पढ्दै आएका कारण पनि ‘यो कल नकाटीकन’ भन्ने शब्दले पक्कै यो कलमा कुनै ‘चारो’ लुकाइएको छ भन्ने शंका लाग्यो।

तुरुन्तै खल्तीको कस्टमर सपोर्टमा फोन गरें। उताबाट उक्त नम्बर आफ्नो कार्यालयको नभएको जानकारी पाएँ। फोन गर्नेले ३७००१ भन्ने शर्ट कोडमा मेसेज पठाउन भनेको थियो।

यो शर्टकोड जानकी टेक्नोलोजीको स्प्यारोएसएमएसको रहेको पत्ता लागेपछि मेसेजिङ पार्टनरका रुपमा खल्तीको कुनै अफर वा योजना चलिरहेको छ कि भनेर सोध्दा स्प्यारोएसएमएसबाट यो नम्बर डेडिकेटेड रुपमा खल्तीले नै प्रयोग गर्ने जवाफ पाएँ।

त्यसपछि फेरि खल्तीमा दोहोर्याएर कल गरें। खल्तीको वेबसाइटमा राखिएको नम्बरमा फोन गर्दा मार्केटिङ टिममा समन शाक्यले फोन उठाए र मलाई कल आएको नम्बर चेक गरेर भने, ‘यो नम्बर खल्तीको आधिकारिक होइन, फ्रड हुन सक्छ। यसबाट यस्तै खालको कल अरुलाई पनि गएको गुनासो आएको छ। यो नम्बरसहित एसएमएस, ओटीपी जेजे छ त्यो सबै राखेर हामीलाई मेल गरिदिनुहोस्। हामी कानुनी प्रक्रियामा लैजान्छौं।’

यति भनेपछि पक्का भयो स्क्याम नै हो भनेर। यसबीचमा मैले उक्त नम्बरमा लगभग ७ पटकजति फोन गरें तर रिसिभ भएन। कुनै बेला पूरै घण्टी गयो तर उठेन, कुनै देला २/४ घण्टीपछि बिजी टोन वा तपाईँले डायल गर्नुभएको नम्बर उठेन भन्ने सन्देश मात्र आयो।

बेलाबेला बैंकबाट बोलेको भन्दै ओटीपी माग्ने, डिजिटल वालेटका कर्मचारी बनेर पासवर्ड, ओटीपी लगायत मागेर वालेट र बैंकखातामा रहेका रकम रित्याउने गिरोहहरु यसअघि पनि र अहिले पनि सोझासाझा प्रयोगकर्ताहरुलाई शिकार बनाउन सकिन्छ भनेर प्रयासमा लागिरहेका देखिन्छन् भने यस्ता फोनका भरमा परेर आफ्नै लाखौं रुपैयाँ डुबाउनेहरु पनि छन्।

यस हिसाबले यस्ता ठगी नियतका कल, एसएमएस तथा ईमेलहरुबाट बच्नुपर्ने देखिन्छ। प्रहरीले पनि बेलाबेला यस्ता कुकृत्यहरुबाट सर्साधारणलाई जोगाउन विभिन्न प्रकारका सन्देशहरु मोबाइल, ईमेल वा नम्बरमा पठाइरहेका हुन्छन्। तिनीहरुलाई अनुसरण गर्न सके डिजिटल ठगीबाट आफू र आफ्नाहरुलाई जोगाउन सकिन्छ।

थाहा नभएको नम्बरबाट नामै तोकेर फोन आएका कारण कतै हाम्रा डाटाहरु कुनै प्लेटफर्मबाट विभिन्न बहानामा बाहिरिन्छन् कि अथवा हाम्रो फोन नै पो ह्याकरहरुले ह्याक गरिसके कि भन्ने आशंका जन्माएको छ।

यसबाहेक यदि मैले उक्त व्यक्तिले भनेको खुरुखुरु मानेर ‘मेसेज त हो फरवार्ड गरिदिउँ न त ४ हजार रुपैयाँ भए पनि बोनस आउँछ’ भन्ने लोभमा फसेको भए उक्त मेसेजमार्फत् मेरा डिजिटल वालेट, बैंक खाता, ईमेल, सामाजिक सञ्जाल तथा अन्य व्यक्तिगत विवरण ह्याकर समूहको नियन्त्रणमा पनि जान सक्थ्यो होला।

त्यसैले तपाईँहरुले पनि यस प्रकारका क्रियाकलाप देख्नु भोग्नु भएमा भावनामा नबगी राम्ररी सोचविचार गरेर मात्र कदम चाल्नुहोला। प्रहरीमा जाने विकल्प पनि खुला छ तर समस्या परेपछि समाधान खोज्न जानुभन्दा शुरुमै सचेत हुनु उत्तम उपाय हो।

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया