Technology Khabar १२ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
न्याय प्रणालीलाई थप सहज र सरल बनाउन अनलाइन प्रणाली शुभारम्भ गरिएको छ।
सर्वोच्च अदालतबाट सातै प्रदेशका मुख्य न्यायाधीवक्ताको कार्यालयहरूलाई दिइने पेसीको सूचना पठाउने तथा जिल्ला अदालतहरूले विशेष प्रकृतिको निवेदन उपर कारबाहीमा प्रयोग गरिने अनलाइन प्रणालीको आज शुभारम्भ गरिएको हो।
अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्रणालीको सुधार गर्नैपर्ने भएको र त्यसका लागि प्रविधिको सुधार अतिआवश्यक भएको उल्लेख गरे । “यस कार्यको शुभारम्भपछि न्याय प्रणाली दिगो, भरपर्दो, विश्वसनीय र पारदर्शी हुनेछ भने अनियमितता, विकृति विसङ्गति हटाउन योगदान पुग्नेछ”, उनले भने।
न्याय प्रणालीमा ‘डिजिटाइजेसन’ रुपान्तरण आजको अपरिहार्यता भएको प्रधानन्यायाधीश राउतको भनाइ थियो।
सर्वोच्च अदालतले न्यायिक सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने तथा अदालतलाई कागज प्रयोग न्यून हुने निकायका रूपमा विकास गर्ने लक्ष्यका साथ सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ। सर्वोच्च अदालतले अदालतहरूको मुद्दा व्यवस्थापनका अधिकांश कार्य एकीकृत मुद्दा व्यवस्थापन प्रणाली र यसका ढाँचाहरुबाट गर्नेगरी व्यवस्था मिलाइएको जनाएको छ।
उक्त प्रणालीमा नयाँनयाँ सेवा थप हुँदै आएकामा सर्वोच्च अदालतले हालै तयार पारेको अनलाइन प्रणाली सुरु गरेको हो। रासस
प्रकाशित: १२ चैत्र २०८१, मंगलवार