Technology Khabar १२ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
एनसेलले यही शनिबार (चैत्र १५) बाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा एक मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ। तीन टिमको सहभागिता रहेको यो मैत्रिपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ।
सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पुर्व राष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरुको टिमबीच भएको थियो। यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २–१ का साथ १ गोलको अन्तरले हराएको थियो।
एनसेल एनएसएलको अवसरमा आयोजित यो प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो। यस फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २–० ले जित हासिल गरेको थियो।
शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा आवद्ध रहेको छ। यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ।
“एनएसएलसँग एनसेलको यो सहकार्यले खेलकुद क्षेत्रको विकासप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यो सहकार्य एनसेलको थिम ‘हामी तपाईंकै लागि’मा आधारित छ र सबैले मन पराउने फुटबल खेलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने।
एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ। यो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तरको योगदानलाई स्पष्ट पारेको छ।
प्रकाशित: १२ चैत्र २०८१, मंगलवार