Technology Khabar ८ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
ई-कमर्स व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले अनिवार्य रुपमा विद्युतीय प्लेटफर्म स्थापना गर्नु पर्ने भएको छ। आज नेपाल राजपत्रमा प्रकाशित कानून न्याय तथा संसदीय मामिला मन्त्रलायको ‘विद्युतीय व्यापार ई कमर्स को सम्बन्धमा बनेको ऐन, २०८१ मा यस्तो प्रावधान राखिएको छ।
ऐन अनुसार विद्युतीय व्यापार सञ्चालन गर्ने प्रत्येक व्यवसायीले विद्युतीय प्लेटफर्म स्थापना गर्नु पर्नेछ भने लघु उद्यमी वा सो सरहको घरेलु उद्यमीका हकमा भने अन्य विद्युतीय प्लेटफर्म प्रयोग गरी विद्युतीय व्यापार गर्न पाइने व्यवस्था छ।
यसरी बनाइएको प्लेटफर्ममा व्यवसायीले आफ्नो व्यापार वा व्यवसायको सम्बन्धमा क्रेताले चाहेको बखत सुसूचित निर्णय लिन सक्ने गरी कम्तीमा विद्युतीय प्लेटफर्मको नाम, व्यवसायको नाम, ठेगाना, दर्ता भएको निकाय र दर्ता प्रमाणपत्र नम्बर, व्यवसायीको रजिस्टर्ड कार्यालय, प्रधान
कार्यालय र कारोबार हुने शाखा तथा आउटलेट भए सो समेतको विवरण प्रस्टसँग राख्नुपर्नेछ।
यसैगरी कुनै खास किसिमको व्यवसाय सञ्चालन गर्न छुट्टै अनुमतिपत्र प्राप्त गरेको भए सोको विरण, मध्यस्थ वा सूचीमा आधारित विद्युतीय व्यापारमध्ये कुन व्यवसाय गर्ने हो, सोको विवरण, मूल्य अभिवृद्धि कर दर्ता नम्बर वा स्थायी लेखा नम्बर, व्यवसायीलाई सम्पर्क गर्ने इमेल, टेलिफोन, मोबाइल नम्बर, टेलिफ्याक्स, सामाजिक सञ्जालको ठेगाना (लिङ्ग) र ग्राहक सेवाको लागि निर्धारित इमेल, टेलिफोन तथा मोबाइल नम्बर, गुनासो सुनुवाई गर्ने जिम्मेवार व्यक्ति वा एकाइको इमेल, टेलिफोन वा मोबाइल नम्बर र ठेगाना, र विद्युतीय व्यापार पोर्टलमा सूचीकृत भएपछि प्राप्त सूचीकरण नम्बर पनि स्पष्टरुपमा राख्नुपर्ने ऐनमा उल्लेख छ।
यसैगरी ऐनको उपदफा (२) बमोजिमको विवरणमा कुनै परिवर्तन भएमा व्यवसायीले त्यस्तो परिवर्तन भएको समयले अठचालिस घण्टाभित्र आफ्नो विद्युतीय प्लेटफर्ममा विवरण अद्यावधिक गर्ने र यी विवरण पूर्ण, स्पष्ट र सहज रूपमा उपभोक्तालाई उपलब्ध हुन सक्ने गरी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रकाशित: ८ चैत्र २०८१, शुक्रबार