
काठमाडौं ।
नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम र सङ्ख्या बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ माघको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकम तथा सङ्ख्यामा वृद्धि देखिएको हो।
चालु आर्थिक वर्षको सातौं महिना माघमा डिजिटल वालेट मार्फत ४१ अर्ब २१ करोड २० लाख रुपैयाँ भुक्तानी भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् पौषमा ४० अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।
यसरी हेर्दा अघिल्लो महिना पौषको तुलनामा माघ महिनामा डिजिटल वालेट मार्फत हुने भुक्तानी ६५ करोड २० लाख रुपैयाँले बढेको देखिन्छ।
कारोबार सङ्ख्याका हिसाबले हेर्दा भने माघसम्म डिजिटल वालेटमार्फत् ३ करोड ३० लाख ८९ हजार २१० पटक कारोबार भएको पाइएको छ।अघिल्लो महिना अर्थात् पौषमा डिजिट वालेटमार्फत् ३ करोड २२ लाख ६४ हजार ४०० पटक कारोबार भएको थियो।
तुलनात्मक रुपमा हेर्दा पौषदेखि माघसम्मको एक महिनाको अवधिमा नेपालमा डिजिटल वालेट मार्फत हुने कारोबार सङ्ख्या ८ लाख २४ हजार ८१० ले बढेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: ४ चैत्र २०८१, सोमबार