Technology Khabar २ चैत्र २०८१, शनिबार
काठमाडौं ।
अन्तरिक्षमा अड्किएका अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्रीद्वय चाँडै पृथ्वीमा फर्कने भएका छन्। नासा र अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले शुक्रबार सुनिता विलियम्स र उनका सहयात्री अन्तरिक्ष यात्री बुच विल्मोरलाई फिर्ता ल्याउन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नयाँ टोली पठाएको छ।
क्रू-१० मिसन-नासाको केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत ड्र्यागन अन्तरिक्ष यान प्रक्षेपण गरिएको थियो। यस चालक दलमा चार अन्तरिक्ष यात्रीहरू छन्। यस मिसनमा अन्तरिक्ष यात्री एनी म्याक्लेन (कमाण्डर) र निकोल एयर्स (पाइलट) का साथै मिसन विशेषज्ञहरू, जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अन्तरिक्ष यात्री ताकुया ओनिशी र रूसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस अन्तरिक्ष यात्री किरिल पेस्कोभ समावेश छन्।
विलियम्स र विल्मोरले आईएसएसमा यी अन्तरिक्ष यात्रीहरूलाई जिम्मेवारी सुम्पनेछन्। यसपछि यी दुवै अन्तरिक्ष यात्री पृथ्वीमा फर्कनेछन्। यो मिसन बिहीबार प्रक्षेपण गर्ने तालिका थियो तर हाइड्रोलिक प्रणालीमा गडबडीका कारण स्थगित गरिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मस्कले पूर्व राष्ट्रपति जो बाइडेनले यी दुई अन्तरिक्ष यात्रीहरूको फिर्तीमा जानाजानी ढिलाइ गरेको आरोप लगाएका छन्। गत वर्ष जून महिनामा, यी दुवै अन्तरिक्ष यात्री स्टारलाइनरमार्फत केही दिनको लागि मिसनमा आईएसएस गएका थिए। तर, अन्तरिक्ष यानमा प्राविधिक समस्याका कारण तिनीहरू अड्किए। बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक समस्याका कारण विलियम्स र विल्मोरको फिर्ती कठिन बनाइएको थियो।
स्टारलाइनर अन्तरिक्ष यानलाई आईएसएससम्म पुग्न कठिनाइ भइरहेको थियो। यसको एउटा प्रमुख समस्या यस अन्तरिक्षयानबाट हेलियमको चुहावट थियो। आईएसएसको कमान्ड रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्कोले विलियम्सलाई हस्तान्तरण गरेका थिए।
आईएसएसको कमाण्डरको रूपमा, विलियम्सले विभिन्न अपरेशन र अनुसन्धानको निरीक्षण गर्छन्। केही महिना अघि, विलियम्सले एक भिडियो पत्रकार सम्मेलनमा पृथ्वीमा फर्कन ढिलाइ भएको बारेमा आफ्नो विचार साझा गरेकी थिईन। उनले आइएसएसलाई ‘खुशीको ठाउँ’ भनेकी थिईन्। विलियम्सले आफ्नो विगतको अनुभवका कारण अन्तरिक्षमा जीवनमा घुलमिल हुन गाह्रो नभएको बताइन्।
नासाले विलियम्स र विल्मोरको स्थान क्रू-१० का अन्तरिक्ष यात्रीहरू आउने बताएको छ। सावधानीका रूपमा, नयाँ अन्तरिक्ष यात्रीहरूलाई मिसन प्रक्षेपण गर्नुभन्दा दुई हप्ता अघि आइसोलेसनमा राखिएको थियो।
प्रकाशित: २ चैत्र २०८१, शनिबार