Technology Khabar २७ फाल्गुन २०८१, मंगलवार
काठमाडौं ।
चिनियाँ प्रक्षेपण स्टार्टअप डीप ब्लु एरोस्पेसले पहिलो कक्षीय प्रक्षेपण र पुन:प्राप्ति प्रयासको तयारी गर्दै नयाँ लगानी प्राप्त गरेको छ।
कम्पनीले करिब ५०० मिलियन युआन (६८.९ मिलियन डलर) को लगानी जुटाएको छ। यो लगानी मुख्य रूपमा राज्य-स्वामित्वमा रहेको ताइशान इन्डस्ट्रियल डेभलपमेन्ट इन्भेस्टमेन्ट ग्रुपको सहायक ताइयुआन युआनवाङ न्यू इनर्जी इन्डस्ट्री इन्भेस्टमेन्ट फन्डले नेतृत्व गरेको हो।
डीप ब्लु एरोस्पेसका पुन:प्रयोग गर्न मिल्ने नेबुला श्रृंखलाका प्रक्षेपण यानहरूको अनुसन्धान, विकास र व्यावसायीकरणका लागि यो रकम प्रयोग गरिने स्पेसन्युज डटकमले जनाएको छ।
मार्च ६ मा जारी विज्ञप्ति अनुसार, यस लगानीले ताइयुआन एयरोस्पेस इन्डस्ट्री क्लस्टरसँगको समन्वयलाई प्रवर्द्धन गर्दै पुन:प्रयोग गर्न सकिने व्यावसायिक प्रक्षेपण यानहरूको प्रविधिगत उन्नति सुदृढ गर्ने उद्देश्य राखेको छ।
डीप ब्लु एरोस्पेसका सीईओ हुआ लिआङले चीन पुन:प्रयोग गर्न सकिने रकेटहरूको प्रविधि प्रमाणीकरण चरणबाट व्यावसायिक सञ्चालन चरणमा रूपान्तरण भइरहेको समयमा यो लगानी महत्वपूर्ण रहेको बताएका छन्।
लगानीकर्ताहरूका अनुसार, यस लगानीले अन्तरिक्ष प्रविधिको व्यावसायीकरणलाई अघि बढाउने र एयरोस्पेस उद्योगलाई क्षेत्रीय अर्थतन्त्रसँग एकीकृत गर्दै ताइयुआन सिटीलाई विश्वस्तरीय अन्तरिक्ष प्रविधि केन्द्र बनाउन सहयोग गर्नेछ।
नेबुला-१ को मध्य वर्षीय लक्ष्य
डीप ब्लु एरोस्पेसले अब नेबुला-१ कक्षीय रकेटको पहिलो प्रक्षेपण २०२५ को मध्यमा गर्ने लक्ष्य राखेको छ। सम्भावित रूपमा यो प्रक्षेपण हाइनान टापुको नयाँ व्यावसायिक अन्तरिक्ष बन्दरगाहबाट हुनेछ।
प्रक्षेपणमा पहिलो चरणलाई शक्तियुक्त अवतरण प्रविधिमार्फत पुन:प्राप्त गर्ने प्रयास गरिनेछ। कम्पनीका अनुसार, रकेटले इन्जिन परीक्षण र नियन्त्रण प्रणाली प्रमाणीकरणजस्ता प्रमुख परीक्षणहरू पास गरिसकेको छ। रकेट इन्जिन प्रविधि र नियन्त्रण प्रणालीको परिपक्वता तथा विश्वसनीयता लगातार परीक्षण हुँदै आएको छ। छिट्टै पूर्ण प्रणाली एकीकृत परीक्षण हुने अपेक्षा गरिएको छ।
नेबुला-१ ले केरोसिन-तरल अक्सिजन प्रोपेल्यान्ट प्रयोग गर्छ र २,००० किलोग्रामसम्मको भार लो अर्थ अर्बिटमा लैजान सक्षम छ। यसको पहिलो चरण ३.३५ मिटर व्यासको छ, जसमा ९ वटा इन्जिन छन्।
गत वर्ष, डीप ब्लु एरोस्पेसले १७९-सेकेन्ड लामो भर्टिकल टेकअफ, भर्टिकल ल्यान्डिङ परीक्षण गरेको थियो। तर, ल्यान्डिङ खुट्टा तन्काएपछि अन्तिम चरणमा समस्या आउँदा विस्फोट भई परीक्षण असफल भएको थियो।
प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार