Technology Khabar २५ फाल्गुन २०८१, आईतवार
काठमाडौं ।
ताइवानी स्मार्टफोन ब्रान्ड एचटीसीले नयाँ बजेट–फ्रेण्डली डिभाइस एचटीसी वाइल्डफायर ई५ प्लस प्रस्तुत गरेको छ। भियतनाम र थाइल्याण्ड जस्ता दक्षिणपूर्वी एसियाली बजारहरूलाई लक्षित गरी ल्याइएको यो ह्यान्डसेट ठूलो डिस्प्ले र सक्षम क्यामरा खोज्ने प्रयोगकर्ताहरूका लागि एक प्रवेश–स्तरको डिभाइस भएको बताइएको छ।
एचटीसी वाइल्डफायर ई५ प्लसको स्पेसिफिकेसन र सुविधाहरू
एचटीसी वाइल्डफायर ई५ प्लस इन्ट्री–लेभल प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको बताइएको छ जसमा ९० हर्ज रिफ्रेस रेट भएको ६.७४५ इन्चको एचडी+ डिस्प्ले रहेको छ।
स्क्रिनको माथिल्लो भागमा रहेको नोचमा १६–मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश गरिएको छ। यसको रियर क्यामरा सेटअपमा ५०–मेगापिक्सेलको प्राथमिक क्यामरा र २–मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छ।
वाइल्डफायर ई५ प्लसमा १.६ गिगाहर्जको युनिसोक टी६०६ प्रोसेसर, ६जीबी र्याम र १२८जीबी आन्तरिक स्टोरेज रहेको छ। माइक्रोएसडी कार्ड मार्फत स्टोरेज विस्तार गर्न सकिने बताइएको छ।
वाइल्डफायर ई५ प्लस एन्ड्रोइड १४ मा रन हुने (चल्ने) र यसमा ५,००० एमएएच ब्याट्री समावेश गरिएको छ। सुरक्षाको लागि भनेर यसमा फिङ्गरप्रिन्ट र फेसियल रिकग्निसन जस्ता बायोमेट्रिक अथेन्टिकेसन रहेको छ। कनेक्टिभिटी विकल्पहरूमा भने फोरजी एलटीई, वाई–फाई ८०२.११, ब्लुटुथ ५.०, यूएसबी टाइप–सी पोर्ट र ३.५एमएम हेडफोन ज्याक समावेश रहेका छन्।
एचटीसी वाइल्डफायर ई५ प्लसको मूल्य र उपलब्धता
वाइल्डफायर ई५ प्लस ग्रे (खैरो) र ब्लू (नीलो रङ्गमा उपलब्ध हुनेछ भने भियतनाममा यसको मूल्य २,३७९,००० भियतनामी डोङ (९३ अमेरिकी डलर) कायम गरिएको छ। यो ह्यान्डसेट यस महिनाको अन्त्यतिर थाइल्याण्डमा पनि रिलिज हुने अपेक्षा गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २५ फाल्गुन २०८१, आईतवार