अस्ट्रेलियाली वैज्ञानिकहरूले पत्ता लगाए विश्वको सबैभन्दा पुरानो उल्का क्रेटर

  • Technology Khabar | २४ फाल्गुन २०८१, शनिबार
अस्ट्रेलियाली वैज्ञानिकहरूले पत्ता लगाए विश्वको सबैभन्दा पुरानो उल्का क्रेटर

काठमाडौं ।

बिहीबार प्रकाशित एक अध्ययन अनुसार अस्ट्रेलियाका वैज्ञानिकहरूले विश्वको सबैभन्दा पुरानो ज्ञात उल्कापिण्ड प्रभाव क्रेटर पत्ता लगाएका छन्। यसले जीवनको उत्पत्ति र पृथ्वीको बारेमा बुझाइलाई पुनः आकार दिनसक्छ।

“उत्तरपश्चिमी अस्ट्रेलियाको दुर्गम भागमा फेला परेको क्रेटरले हाम्रो ग्रहको प्राचीन इतिहासका बारेमा अघिल्लो धारणाहरूलाई उल्लेखनीय रूपमा चुनौती दिएको छ”, कर्टिन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एक रिपोर्टमा भनेका छन्।

टोलीले उत्तरी ध्रुव गुम्बजमा चट्टानका तहहरूको अनुसन्धान गर्‍यो र साढे तीन अर्ब वर्ष पहिले एउटा ठूलो उल्कापिण्डको प्रभावको प्रमाण फेला पार्‍यो।

“हाम्रो खोजभन्दा पहिले सबैभन्दा पुरानो प्रभाव क्रेटर दुई अर्ब २० करोड वर्ष पुरानो थियो, त्यसैले यो पृथ्वीमा अहिलेसम्म फेला परेको सबैभन्दा पुरानो ज्ञात क्रेटर हो”, अध्ययनका सह–प्रमुख प्रोफेसर टिम जोनसनले भने।

सह–प्रमुख लेखक प्रोफेसर क्रिस कर्कल्यान्डका अनुसार यस खोजले उल्काहरूले पृथ्वीको प्रारम्भिक वातावरणलाई कसरी आकार दिए भन्ने बारेमा नयाँ प्रकाश पारेको छ।

“यो प्रभाव पत्ता लगाउनु र समान समयावधिबाट अझै धेरै फेला पार्नुले जीवनको सुरुआत कसरी भएको हुन सक्छ भन्ने बारेमा धेरै कुरा बताउन सक्छ, किनकि प्रभाव क्रेटरहरूले सूक्ष्म जीवनका लागि तातो पानीका पोखरीहरू जस्ता अनुकूल वातावरण सिर्जना गरे”, कर्कल्यान्डले भने, “यसले क्रष्ट निर्माणको हाम्रो बुझाइलाई पनि आमूल रूपमा परिष्कृत गर्छ –– यस प्रभावबाट आएको अत्यधिक ऊर्जाले प्रारम्भिक पृथ्वीको क्रष्ट आकार दिनमा भूमिका खेलेको हुन सक्छ।”

यो उल्कापिण्ड ३६ हजार किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा यस क्षेत्रमा ठोक्किएको अनुमान गरिएको छ, जसको परिणामस्वरूप एक सय किलोमिटरभन्दा बढी चौडाइको खाडल बनेको छ र यसले विश्वभर उडिरहेको भग्नावशेष पठाएको हुनसक्छ।

“अहिलेसम्म कुनै पनि साँच्चै प्राचीन क्रेटरहरूको अनुपस्थितिको कारण तिनीहरूलाई भूगर्भशास्त्रीहरूले मोटामोटी बेवास्ता गरेका छन्”, जोन्सनले भन्नुभयो, “यो अध्ययनले पृथ्वीको प्रभाव इतिहासको एक महत्त्वपूर्ण टुक्रा प्रदान गर्छ र समयसँगै पत्ता लगाउन सकिने धेरै अन्य प्राचीन क्रेटरहरू हुन सक्छन् भन्ने सुझाव दिन्छ।”-रासस/एएफपी

प्रकाशित: २४ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...