Technology Khabar २३ फाल्गुन २०८१, शुक्रबार
काठमाडौं ।
भुक्तानी प्रदायक संस्थाको एटीएममा समस्या आएमा त्यसबारेको जानकारी एटीएम सञ्चालन गर्ने संस्था तथा आवश्यक परे कार्ड जारी गर्ने संस्थामा समेत पुग्ने व्यवस्था मिलाउनुपर्ने भएको छ।
राष्ट्बैंकले बुधबार जारी गरेको भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा यस्तो प्रावधान थप गरिएको हो।
निर्देशिकाको निर्देशन १३ को बुँदा नम्बर २ को उपबुँदा ९, ११ र १२ थप गरेर एटीएमसम्बन्धी प्रावधान राखिएको हो। यसको उपबुँदा ११ मा भनिएको छ, ‘कुनै प्राविधिक कारणले एटीएम नचलेमा, एटीएममा पर्याप्त नगद नभएमा, नगद ननिस्किएमा वा अन्य समस्या उत्पत्र भएमा तत्काल सोको सूचना सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्थामा पुग्ने व्यवस्था गर्नुपर्ने छ। साथै, सोको सूचना आवश्यकता अनुसार कार्ड जारी गर्ने संस्थामा समेत पुग्ने व्यवस्था मिलाउनुपर्ने छ।’
यसबाहेक एटीएम कारोबारसम्बन्धमा ग्राहकलाई तत्काल कुनै जानकारी-सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम र सम्पर्क मोबाइल नं. तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नं. नेपाली र अंग्रेजी भाषामा ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ।
यस प्रकारको विवरण नियमित रुपमा अद्यावधिक गरी सो को अभिलेख समेत राख्नुपर्ने निर्देशिनमा उल्लेख गरिएको छ।
प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार