सामाजिक सञ्जालमार्फत् भइरहेको हिंसात्मक गतिविधि रोकथामका लागि विधेयक: सञ्चारमन्त्री गुरुङ

  • Technology Khabar | २१ फाल्गुन २०८१, बुधबार
सामाजिक सञ्जालमार्फत् भइरहेको हिंसात्मक गतिविधि रोकथामका लागि विधेयक: सञ्चारमन्त्री गुरुङ

काठमाडौं ।

सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पछिल्लो समय हिंसाको अर्को आवरणको रुपमा सामाजिक सञ्जालको गलत प्रयोग भइ समाजमा विकृति र विसङ्गति मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालको प्रयोग गरी भइरहेको हिंसात्मक गतिविधि रोकथाम गर्नु राज्यको दायित्व भएकाले धार्मिक सहिष्णुता, जातीय एकता, सामाजिक सद्भाव कायम गर्न सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन बनाउन लागेको उनले स्पष्ट पारे।

यदु स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको २६औँ यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेकपा यस्तो बताएका हुन्।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर कुनै व्यक्ति, जाति, सम्प्रदाय, धर्म, संस्कृति र भाषामाथि गरिने हिंसात्मक अभिव्यक्ति रोकथाम गर्न सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक ल्याउन लागेको बताए।

लोकतान्त्रिक विधि, मूल्यमान्यताको उपज भएकाले अभिव्यक्ति एवं प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने अहिलेको सरकार अराजकता र अस्थिरताको विरुद्ध रहेको उनले स्पष्ट पारे।

वरिष्ठ पत्रकार दिलभूषण पाठकले पत्रकारिताको धर्म सत्यतथ्य र निष्पक्ष हुनुपर्नेमा पछिल्लो समय हाम्रो पत्रकारिता हल्लाको पछाडि दौडिन थालेको भनी चिन्ता व्यक्त गरे। सो अवसरमा वरिष्ठ पत्रकार पाठकलाई यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। –रासस

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...