भारतको आदित्य-एल१ ले यसरी खिच्यो सूर्यमा विस्फोट हुँदा निस्किएको शक्तिशाली सौर्य ज्वालाको फोटो

  • Technology Khabar | २१ फाल्गुन २०८१, बुधबार
भारतको आदित्य-एल१ ले यसरी खिच्यो सूर्यमा विस्फोट हुँदा निस्किएको शक्तिशाली सौर्य ज्वालाको फोटो

काठमाडौं ।

भारतको आदित्य-एल१ सौर्य अनुसन्धान यानले सूर्यबाट निस्किएको शक्तिशाली ज्वालाको फोटो कैद गरेको छ।

पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको आफ्नो अवलोकन बिन्दुबाट आदित्य-एल१ ले सूर्यलाई निरन्तर हेर्न सक्छ, जसले यसलाई सौर्य ज्वालाका साथै अन्तरिक्ष मौसममा असर पार्ने अन्य गतिविधि निरीक्षण गर्न मद्दत गर्दछ।

सौर्य ज्वाला सूर्यको चुम्बकीय क्षेत्र जटिल बनेका क्षेत्रहरूमा देखा पर्ने अचानक चम्किला विस्फोटहरू हुन्, जसले केही मिनेटदेखि घण्टासम्म प्रभाव पार्न सक्छ। आदित्य-एल१ मा रहेका सात वैज्ञानिक उपकरणहरूले विभिन्न तरंगदैर्ध्यमा यी ज्वालाहरू पत्ता लगाउने र विश्लेषण गर्ने काम गर्छन्, जसले सूर्यको ऊर्जा कसरी विभिन्न तहहरूमा फैलिन्छ भन्ने बुझ्न वैज्ञानिकहरूलाई मद्दत गर्ने स्पेस डटकमले उल्लेख गरेको छ।

यी उपकरणहरूमध्ये सोलर अल्ट्राभायोलेट इमेजिङ टेलिस्कोप (एसयूआईटी) ले गत वर्ष फेब्रुअरी २२ मा एक सौर्य ज्वालाको अवलोकन गर्‍यो। X6.3 वर्गको यो शक्तिशाली ज्वाला NOAA 13590 नामक सक्रिय क्षेत्रबाट उत्पन्न भएको थियो, जुन पृथ्वीमुखी सूर्यको सतहमा केही दिनअघि मात्रै देखा परेको थियो।

एसयूआईटीले २०० देखि ४०० न्यानोमिटर नजिकको अल्ट्राभायोलेट तरंग लम्बाईको उज्यालोपन देख्यो, जुन यसअघि कहिल्यै अवलोकन गरिएको थिएन, किनभने उक्त तरं लम्बाईमा केन्द्रित कुनै अन्तरिक्ष दूरबिन थिएनन्।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार, आदित्य-एल१ को सोलर लो एनर्जी एक्सरे स्पेक्ट्रोमिटर (सोलेक्स) बाट प्राप्त तथ्याङ्कसँग एसयूईटीका अवलोकनहरू तुलना गर्दा, ज्वालाका कारण सूर्यको तल्लो वायुमण्डलमा देखिएको उज्यालोपन बाहिरी कोरोना तहको तापमान वृद्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको निष्कर्ष निकालिएको थियो।

फेब्रुअरी २८ मा द एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित अनुसन्धानअनुसार, सौर्य ज्वालाबाट निस्किएको ऊर्जा सूर्यको विभिन्न तहहरू हुँदै फैलिएको पुष्टि भएको छ।

“आदित्य-एल१ ले अनुसन्धान यात्रा सुरु गरेको सुरुमै यति शक्तिशाली ज्वाला अवलोकन गर्न पाउनु ठूलो भाग्यको कुरा हो,” अनुसन्धान सहलेखक तथा जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युट फर सोलर सिस्टम रिसर्चका निर्देशक सामी सोलङ्कीले बताए।

नासाको सोलर डाइनामिक्स अब्जरभेटरी, युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को सोलर अर्बिटर तथा पृथ्वीमा रहेका केही अन्य दूरबिनहरूले पनि यस घटनाको अवलोकन गरेका थिए।

“अन्य अन्तरिक्ष यान र दूरबिनहरूको अवलोकनसँगै पहिलो पटक सौर्य ज्वालाका क्रममा सूर्यको विभिन्न तहहरूमा हुने प्रक्रियाको पूर्ण चित्र प्राप्त भएको छ,” सोलङ्कीले थपे।

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार