Technology Khabar १८ फाल्गुन २०८१, आईतवार
काठमाडौं ।
चिनियाँ एआई स्टार्टअप डीपसीकले शनिबार आफ्नो चर्चित भी३ र आर१ मोडेलसँग सम्बन्धित केही लागत र आम्दानी डाटा खुलासा गरेको छ। कम्पनीले प्रति दिनको सैद्धान्तिक लागत-मुनाफा अनुपात ५४५ प्रतिशतसम्म हुनसक्ने दावी गरेको छ तर वास्तविक आम्दानी उल्लेखनीय रूपमा कम हुने चेतावनी दिएको छ।
हाङ्झाउ-आधारित कम्पनीले कम कम्प्युटेसनल क्षमता चाहिने “इन्फरेन्स” कार्यहरूबाट हुने नाफासँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गरेको यो पहिलो पटक हो। इन्फरेन्स भनेको च्याटबटहरू मार्फत सेवा प्रदान गर्नेजस्ता प्रशिक्षित एआई मोडेलहरूले भविष्यवाणी गर्ने वा टास्कहरू पूरा गर्ने चरण हो।
यो खुलासाले चीनबाहिरका एआई सेयरहरूलाई थप असर पुर्याउन सक्छ, जसले जनवरीमा गिरावट भोगेका थिए। डीपसिकका आर१ र भी३ मोडेलहरूले वेब र एप च्याटबटहरूमा विश्वव्यापी रूपमा लोकप्रियता कमाएपछि सेयर बजारमा दबाब परेको थियो।
यो सेयर बिक्रीको एउटा कारण डीपसिकले आफ्नो मोडेललाई प्रशिक्षण दिन ६ मिलियन डलरभन्दा कम खर्च गरेको दाबी गर्नु पनि थियो, जुन अमेरिकी प्रतिस्पर्धीहरू जस्तै ओपनएआईले खर्च गरेको रकमको तुलनामा निकै कम हो।
रोयटर्सका अनुसार डीपसिकले दाबी गरेको चिप्स एनभिडियाको एच८०० अमेरिकी एआई कम्पनीहरूले प्रयोग गर्ने चिप्सहरूको तुलनामा कम शक्तिशाली छन्। यसले अमेरिकी एआई कम्पनीहरूले अत्याधुनिक चिप्समा अर्बौं डलर खर्च गर्ने योजनाप्रति लगानीकर्ताहरूलाई थप शंका गर्न बाध्य बनाएको छ।
डीपसिकले शनिबार गिटहबमा पोस्ट गरेको जानकारीअनुसार एउटा एच८०० चिप भाडामा लिन प्रति घण्टा २ डलर लागत लाग्ने मान्दा यसको भी३ र आर१ मोडेलहरूको कुल दैनिक इनफरेन्स लागत ८७,०७२ डलर रहेको छ।
यसको विपरीत, यी मोडेलहरूले दैनिक रूपमा ५६२,०२७ डलरको सैद्धान्तिक आम्दानी गर्न सक्छन्, जसले ५४५ प्रतिशत लागत-मुनाफा अनुपात देखाउँछ। वार्षिक रूपमा, यो २०० मिलियन डलरभन्दा बढीको आम्दानी हुनसक्ने आकलन गरिएको छ।
तर कम्पनीले “वास्तविक आम्दानी उल्लेखनीय रूपमा कम” रहेको बताएको छ। यसको कारण भी३ मोडेलको प्रयोग लागत आर१ भन्दा कम हुनु, केही सेवाहरूबाट मात्र आम्दानी हुनु, वेब र एप पहुँच निःशुल्क रहनु, र अफ-पिक घण्टामा डेभलपरहरूले कम शुल्क तिर्नु हो।
प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार