Technology Khabar १२ फाल्गुन २०८१, सोमबार
काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताएका छन्। दक्ष प्राविधिकहरू उत्पादन गर्नसके स्वदेशमा नै स्वरोजगारीको सिर्जना गरी आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनको भनाई छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्–सिटिइभिटीको ३७ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले सीपयुक्त शिक्षा र प्रविधिको हस्तान्तरणमार्फत दक्ष प्राविधिक उत्पादन गर्नुपर्नेमा जोड दिए।
उच्च शिक्षा हासिल गरेका युवा समेत रोजगारीका लागि विदेश गइरहेका उल्लेख गर्दै उनले सैद्धान्तिक शिक्षासँगै व्यावसायिक र प्राविधिक शिक्षा प्रदान गर्नसके यो क्रम घट्ने समेत उल्लेख गरे।
सिटिइभिटीले देशका विभिन्न ग्रामीण क्षेत्रसम्म पुगेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदान गर्नु सरहानीय रहेको उल्लेख गर्दै मन्त्री दाहालले तालिम र शिक्षा पाएको जनशक्तिलाई स्वदेशमा नै आत्मनिर्भर र व्यावसायिक बनाउनतर्फ पनि ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा उनले परिषद्का विभिन्न शिक्षालयका विद्यार्थीले प्रयोगात्मक सीपमार्फत निर्माण गरेका विभिन्न सामग्री, उपकरणका स्टलको अवलोकन समेत गरे। सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा अवकाशप्राप्त कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने मन्त्री दाहालले परिषद्मार्फत प्रकाशित जर्नलको लोकार्पण पनि गरे।
परिषद्का सदस्य सचिव महेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले परिषद्का लागि समयानुकूल कानुन निर्माण गर्न मन्त्री एवं सरकारको ध्यानाकर्षण गराएका थिए।-रासस
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार