Technology Khabar १२ फाल्गुन २०८१, सोमबार
काठमाडौं ।
अलिबाबाले आगामी तीन वर्षमा क्लाउड कम्प्युटिङ र एआई पूर्वाधारमा कम्तीमा ३८० अर्ब युआन (५२.४४ अर्ब डलर) लगानी गर्ने योजना बनाएको सोमबार घोषणा गरेको छ।
चिनियाँ ई-कमर्स दिग्गजले शुक्रबार आफ्नो वित्तीय नतिजा घोषणा गर्दै यस क्षेत्रमा लगानी गर्ने योजना रहेको बताएको पनि त्यतिबेला ठोस रकम खुलाइएको थिएन। कम्पनीले डिसेम्बर ३१ मा समाप्त तीन महिनाका लागि २८०.१५ अर्ब युआन राजस्व रिपोर्ट गरेको थियो, जुन विश्लेषकहरूको अनुमानभन्दा केही बढी हो।
रोयटर्सका अनुसार यो कुल लगानी रकम कम्पनीले विगत दशकभर एआई र क्लाउड कम्प्युटिङमा खर्च गरेको रकमभन्दा धेरै भएको अलिबाबाले बताएको छ।
कम्पनीले २०२५ लाई चीनको एआई प्रतिस्पर्धामा अग्रसर रूपमा सुरू गरेको छ, रणनीतिक व्यावसायिक सम्झौताहरूका कारण लगानीकर्ताहरू आकर्षित गरिरहेको छ। यस वर्ष यसको सेयर मूल्य ६८ प्रतिशतभन्दा बढीले बढिसकेको छ।
अन्य चिनियाँ कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गरिरहेका छन्। टिकटकको स्वामित्व राख्ने बाइटडान्सले २०२४ मा १५० अर्ब युआनभन्दा बढी पूँजीगत खर्च विनियोजन गरेको छ, जसको अधिकांश भाग एआईकेन्द्रित हुने बताइएको छ। जनवरीको अन्त्यमा रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको थियो।
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार