
काठमाडौं ।
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल कानुन समाजले शुक्रबार आयोजना गरेको ‘नेपाल-चीन कानुन सहयोग आदानप्रदानको दृष्टिकोण विषयक कार्यक्रममा उनले छिमेकी चीन र भारतले न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोगलाई उच्चतम रूपमा कार्यान्वयन हुने बताउँदै नेपालले पनि सोही अनुसार कार्यसम्पादन गर्नुपर्ने उल्लेख गरे।
उनले नेपालले पछिल्लो समय न्यायका क्षेत्रमा अनलाइन प्रणाली सुरु गरिसकेको बताउँदै यसले न्याय प्रणाली सरल सहज हुनुका साथै पहुँच विस्तार हुने धारणा व्यक्त गरे। पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले कानुनलाई विकाससँग जोडेर कार्यान्वयन गर्नु आवश्यक रहेकामा जोड दिए। उनले चीनको न्याय प्रणाली नेपालसँग धेरै दृष्टिकोणले मिल्दो भएकाले सिकाइ र सहयोग आदानप्रदान गर्न सकिने उल्लेख गरे।
नेपालका लागि चिनियाँ राजदूत छन सोडले चिनियाँ न्याय प्रणालीका बारेमा जानकारी गराउँदै आर्थिक विकासका लागि कानुन प्रणालीमा सुधारको आवश्यकता रहेको बताए।
समाजका अध्यक्ष पुष्पा भुसालले मुलुकको आर्थिक विकास र न्याय प्रणालीको विकासका लागि दुई देशबिच अनुभव आदानप्रदान गरेर लाभ लिने उद्देश्यले कार्यक्रम गरिएको जानकारी गराए। कार्यक्रममा अन्य सहभागीले छलफलमा आआफ्ना धारणा व्यक्त गर्दै कानुन विकासको बाधक बन्न नहुने बताउँदै विकास अनुकूलको कानुनको आवश्यकतामा जोड दिएका थिए।
आजको गोरखापत्रबाट
प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार