बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युतीय अभिलेख सुरु

  • Technology Khabar | ६ फाल्गुन २०८१, मंगलवार
बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युतीय अभिलेख सुरु

काठमाडौं ।

बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) शुभारम्भ गरिएको छ। सोमबार यातायात व्यवस्था कार्यालय गुर्जुधारा (मोटरसाइकल)मा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उक्त कार्यको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा डिजिटाइजेशनका लागि मन्त्रालयबाट एक सय जना तथ्याङ्क प्रविष्ट गर्ने कर्मचारी खटाइएको यातायातमन्त्री महर्जनले जानकारी दिए। महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने, अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने र ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने छ।

कार्यक्रममा मन्त्री महर्जनले प्रविधिले सुशासन कायम गर्नमा सहज हुने विश्वास व्यक्त गरे। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले सवारीसाधनको क्षेत्रमा डिजिटाइजेशनले महत्त्वपूर्ण अर्थ राख्ने बताए।

बागमती प्रदेशसभाका अर्का सदस्य रघुनाथ महर्जनले लामो प्रयासपश्चात यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको बताए।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले तथ्याङ्क अभिलेखकर्ताले जति छिटो तथ्याङ्क प्रविष्ट गर्न सक्यो त्यति धेरै आम्दानी गर्न सक्ने जानकारी दिए। उनले मन्त्रालयले यातायात क्षेत्रमा परिवर्तनको आभास गर्न सक्नेगरी काम भइरहेको जानकारी दिए।

कार्यक्रममा मन्त्रालयका प्रशासन प्रमुख खगेन्द्र पौडेलले यातायात क्षेत्रका विभिन्न प्रयासका विषयमा प्रस्तुतिकरण गरेका थिए। सो अवसरमा मन्त्रालयले सवारीसाधनको फाइल फिर्ता गर्न दिएको सूचनाअनुसार सवारीधनी प्रशान्त चौधरीले कार्यक्रमस्थलमै यातायात व्यवस्था कार्यालय गुर्जधाराका प्रमुखलाई फाइल हस्तान्तरण गरेका थिए।

प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...