काठमाडौं ।
मेटाको एआई अनुसन्धान टोली मानव विचारहरू डिकोडिङको नजिक पुगेको छ। कम्पनीले बास्क सेन्टर अन कग्निसन, ब्रेन र ल्याङ्गवेजसँगको सहकार्यमा ८० प्रतिशत शुद्धताका साथ मस्तिष्क गतिविधिबाट वाक्यहरूलाई पुनर्निर्माण गर्न सक्ने एआई मोडेलको विकास गरेको छ।
नन्–इन्भेजिभ ब्रेन (मस्तिष्क) रेकर्डिङ विधिमा निर्भर रहेको यो अनुसन्धानले बोल्ने क्षमता गुमाएका मानिसहरूलाई मद्दत गर्नको लागि प्रविधिलाई मार्ग प्रशस्त गर्न सक्ने कम्पनीले बताएको छ।
यसले कसरी काम गर्छ?
प्रायः इन्भेजिभ इम्प्लान्ट्स आवश्यक पर्ने अवस्थित ब्रेन–कम्प्यूटर इन्टरफेसहरूको विपरीत मेटाको अप्रोच (तवर)ले भने म्याग्नेटोएन्सेफेलोग्राफी (एमईजी) र इलेक्ट्रोएन्सेफेलोग्राफी (ईईजी) प्रयोग गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
यी प्रविधिहरूले शल्यक्रिया बिना मस्तिष्क गतिविधि मापन गर्दछन्। मस्तिष्क रेकर्डिङको लागि तालिम दिइएको यो एआई मोडेलले ३५ स्वयंसेवकहरूबाट उनीहरूले वाक्य टाइप गर्दा डाटा सङ्कलन गरेको उल्लेख छ।
नयाँ वाक्यहरूमा परीक्षण गर्दा, यसले एमईजी डाटा प्रयोग गरेर टाइप गरिएका क्यारेक्टरहरूको ८० प्रतिशतसम्म सही भविष्यवाणी गर्न सक्ने बताइएको छ जुन ईईजी–आधारित डिकोडिङ भन्दा कम्तिमा पनि दुई गुणा बढी प्रभावकारी छ।
यो विधिमा अझै पनि सीमितता रहेको उल्लेख गरिएको छ। एमईजीलाई म्याग्नेटिक्ल्ली सिल्डेड रुम (चुम्बकीय ढाल गरिएको कोठा) चाहिने बताइएको छ र सही रिडिङ्गसको लागि सहभागीहरू स्थिर रहनुपर्ने छ।
हाल यो प्रविधि स्वस्थ व्यक्तिहरूमा मात्र परीक्षण गरिएको बताइएको छ। त्यसैले मस्तिष्कमा चोटपटक लागेकाहरूका लागि यसको प्रभावकारिताको बारेमा भने अनिश्चित छ।
हामीले कसरी शब्दहरू बनाउँछौं भनेर एआईले म्यापिङ गर्दैछ
विचारहरूलाई टेक्स्टमा डिकोड गर्नु बाहेक, मेटाको एआईले अनुसन्धानकर्ताहरूलाई मस्तिष्कले विचारहरूलाई भाषामा कसरी रूपान्तरण गर्छ भनेर बुझ्न मद्दत गरिरहेको छ।
मस्तिष्क गतिविधिलाई मिलिसेकेन्ड स्तरमा ट्र्याक गर्दै एआई मोडेलले एमईजी रेकर्डिङहरू विश्लेषण गर्दछ। यसले टाइप गर्दा मस्तिष्कले कसरी अमूर्त विचारहरूलाई शब्दहरू, अक्षरहरू र व्यक्तिगत औंलाको चालमा रूपान्तरण गर्छ भनेर देखाउँछ।
विगतको जानकारीलाई पहुँचयोग्य राख्दै भाषा निर्माणका विभिन्न चरणहरूलाई एकसाथ जोड्ने मस्तिष्कले प्रयोग गर्ने संयन्त्र ‘गतिशील न्यूरल कोड’ एउटा प्रमुख खोज भएको उल्लेख गरिएको छ। मानिसहरूले बोल्दा वा टाइप गर्दा निर्बाध रूपमा कसरी वाक्यहरू संरचना गर्दछन् भनेर यसले व्याख्या गर्न सक्नेछ।
मौखिक रूपमा बोल्ने नसक्ने व्यक्तिहरूको लागि एआईले कुनै समयमा नन्–इनभेसिभ ब्रेन–कम्प्युटर इन्टरफेसहरू सक्षम गर्न सक्ने मेटाको अनुसन्धानले पुष्टि गरेको छ।
तर अहिलेको लागि, वास्तविक–विश्व प्रयोगको लागि प्रविधि तयार भएको छैन। डिकोडिङ एक्युरेसीको लागि सुधारको आवश्यक रहेको र एमईजीको हार्डवेयर सीमाहरूले यसलाई प्रयोगशाला सेटिङहरू बाहिर अव्यावहारिक बनाएको उल्लेख गरिएको छ।
मेटाले यस अनुसन्धानलाई अगाडि बढाउन साझेदारीमा लगानी गरिरहेको छ। कम्पनीले रोथस्चाइल्ड फाउन्डेशन अस्पताललाई निरन्तर अध्ययनलाई समर्थन गर्न २.२ अमेरिकी डलर मिलियन सहयोग गर्ने घोषणा गरेको छ। यसले युरोपमा न्यूरोस्पिन, इनरिया र सीएनआरएस जस्ता संस्थाहरूसँग पनि काम गरिरहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ फाल्गुन २०८१, सोमबार