सुरक्षित इन्टरनेट दिवस: अनलाइन बाल सुरक्षा जिम्मेवार निकायको प्राथमिकतामा पर्नु आवश्यक

Technology Khabar १ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।

अनलाइन बाल सुरक्षामा कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले राष्ट्रिय बाल अधिकार परिषद् (NCRC) र ५० भन्दा बढी सहकर्मी संस्थाहरु सँगको सहकार्यमा सुरक्षित इन्टरनेट दिवस (SID) २०२५ को अवसरमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको छ।

यी संस्थाहरुले बालबालिका, युवा, र समुदायलाई सुरक्षित इन्टरनेट प्रयोग र अनलाइन जोखिमहरूबाट जोगिने उपायहरू सिकाउन देशका विभिन्न स्थानमा डिजिटल सुरक्षा कार्यक्रमहरू सञ्चालन गरेका थिए।

सन् २०१९ देखि, चाइल्डस्फनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको राष्ट्रिय सचिवालय र संयोजकको रूपमा कार्य गर्दै यस दिवसको प्रवर्द्धन गर्दै आएको छ। यस वर्ष, ५० भन्दा बढी संस्थाहरूले सुरक्षित इन्टरनेट दिवस मनाउन चाइल्डसेफनेटसंग ऐक्यवद्धता गरेका छन्।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप, सुनसरी, मोरङ, तनहुँ, कास्की, नवलपरासी, अछाम, र बाजुरा जिल्लाहरूमा अनलाइन सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी यस वर्ष सुरक्षित इन्टरनेट दिवस मनाइयो।साथै, आगामी दिनहरूमा थप जिल्लाहरूमा पनि कार्यक्रमहरू गरिने जानकारी सहकर्मी संस्थाहरुले दिएका छन्।

अनलाइन बाल सुरक्षामा जिम्मेवार निकायहरुबाट पर्याप्त काम नभएको जानकारी दिँदै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने, “सुरक्षित इन्टरनेट दिवसले अनलाइन सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्छ। यस दिवसले बालबालिकाको डिजिटल सुरक्षालाई प्राथमिकता दिन तथा यस क्षेत्रमा बजेट वृद्धि गर्न बहु-क्षेत्रीय जिम्मेवार निकायहरूसँग वकालत गर्ने अवसर पनि दिन्छ।”

यसै क्रममा चाइल्डसेफनेटले (NCRC) सँग सहकार्य गर्दै इलेन मेमोरियल स्कूल, सीतापाइला, काठमाडौँमा २०८१ माघ २९ गते अनलाइन बाल सुरक्षाबारे एक सार्वजनिक जनचेतना कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले नृत्य, गीत, र नाटक प्रस्तुत गरी सुरक्षित इन्टरनेट प्रयोग सम्बन्धी सन्देशहरू प्रभावकारी रूपमा प्रस्तुत गरे। कार्यक्रममा साइबर सुरक्षा हाज़िरी जवाफ पनि सञ्चालन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि (NCRC) का सदस्य सचिव इन्द्रा देवी ढकालले बालबालिकाको डिजिटल सुरक्षाको महत्त्वबारे प्रकाश पार्दै भनिन्, “बालबालिकाको अनलाइन सुरक्षा (NCRC) को प्राथमिकतामा छ। हामी  ChildSafenet सँग सहकार्य गर्दै नेपालका बालबालिकालाई अनलाइन जोखिमहरूबाट सुरक्षित राख्न पहल गरिरहेका छौं। अन्य संस्थाहरूसँग पनि सहकार्य गर्दै अनलाइन सुरक्षालाई प्रवर्द्धन गर्न इच्छुक छौँ।”

इलेन मेमोरियल स्कूलका कार्यकारी निर्देशक सपना तुलाधरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्कूलका संस्थापक तथा नेपालका आईटी क्षेत्रका अगुवा एलन तुलाधरले विद्यार्थीहरूलाई डिजिटल प्रविधिको सकारात्मक र सुरक्षित प्रयोग गर्न प्रेरित गरे।

कार्यक्रममा ३०० भन्दा बढी विद्यार्थी, शिक्षक, नागार्जुन नगरपालिकाका प्रतिनिधिहरू र प्याब्सनका सदस्यहरूको सहभागिता रहेको थियो।

यसैगरी यस दिवसको अवसरमा देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरियो।

ललितपुरको रातो बंगला स्कूलमा माघ २८ गते यस संस्थाले एक अन्तरक्रियात्मक बाल अनलाइन सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो, जसमा कक्षा ५, ६, र ७ का २०६ विद्यार्थी (११९ छात्रा र ८७ छात्र) सहभागी थिए।

ट्रिपल एच र चाइल्डसेफनेटले अछाम, बाजुरा, काभ्रे, र रामेछाप मा एक महिना भित्र ३० वटा भन्दा बढी तालिम सम्पन्न गरे। धरानमा सुनाखरी एकेडेमील् डिजिटल सुरक्षाबारे निबन्ध प्रतियोगिता सञ्चालन गरे।

धरानकै श्री शारदा बालिका नमुना माविले अनलाइन सुरक्षा सचेतना र्यालीको आयोजना गरेको थियो, जसमा विद्यार्थी (छात्राहरू), शिक्षक, र अभिभावकहरू समेत ३५० भन्दा बढीले भाग लिएका थिए।

यसैगरी पोखरामा श्री कृष्ण माविले अनलाइन सुरक्षा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो भने पोखरामा नै सामाजिक पब्लिक स्कूलद्वारा चित्रकला प्रतियोगिता सञ्चालन गरेका थिए।

साथै, नवलपरासीमा वेदः सिर्जनशील संस्थाद्वारा बालबालिकाका लागि इन्टरनेट सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। बन्दीपुरमा दीपशिखा स्कुलद्वारा अनलाइन सुरक्षा तालिम र सचेतना गतिविधिहरू आयोजना भइरहेका छन्। यसै क्रममा मोरङ, बेलबारीमा श्री लक्ष्मी माविद्वारा वादविवाद प्रतियोगिता सञ्चालन भएको थियो।

यी सामूहिक पहलहरू बालबालिका र युवाहरूको सुरक्षित इन्टरनेटको लागि महत्त्वपूर्ण हुने संस्थाको बुझाई छ।

प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया