
काठमाडौं ।
हरेक वर्ष फेब्रुअरी महिनाको दोश्रो मंगलबार विश्वभर सचेतनामूलक विविध कार्यक्रमका साथ मनाइने सुरक्षित इन्टरनेट दिवस यस पटक ‘Together For a Better Internet’ मूलनाराका साथ विश्वव्यापी रुपमा मंगलबार मनाइएको छ।
इन्टरनेटको दुरुपयोगले जीवनलाई जोखिममा नपुर्याओस् भन्नका लागि सावधानीस्वरुप विशेष गरी बालबालिका र युवामा डिजिटल प्रविधिको सुरक्षित र सकारात्मक प्रयोगलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने हेतुले यो दिवस मनाइएको हो।
विश्वका १ सय ७० भन्दा बढी देशमा सेफर इन्टरनेट डे विविध कार्यक्रमसहित मनाइरहँदा नेपालमा पनि नेपाल सरकार सूचना प्रविधि विभागसँगको सहकार्य तथा नेपालको नेतृत्वदायी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको आयोजनामा सेफर इन्टरनेट डे मनाइएको हो।
जसअन्तर्गत डिजिटल साक्षरता, समावेशिता र सुरक्षित इन्टरनेट प्रयोगको सेरोफेरोमा दुई वटा सत्रमा छलफल तथा अन्तर्क्रिया भएको छ।
उद्घाटन सत्रमा सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले सुरक्षित इन्टरनेटका लागि कानूनी तथा नीतिगत व्यवस्थामा सरकार लागिपरेको बताए।
Safer Internet Day का अवसरमा वर्ल्डलिंकले काठमाडौंमा आज गरेको एक दिवसीय अन्तर्क्रियात्मक कार्यक्रम उद्घाटन सत्रमा विभागका महानिर्देशक पौड्यालले यस्तो बताएका हुन्।
उनले भने, ‘सूचनाप्रविधिलाई अघि बढाउने सोच भए पनि इन्टिग्रेटेड एप्रोचमा लैजान सकिएको छैन। सुरक्षित इन्टरनेटका लागि सचेतना बढाउनु आवश्यक छ। नैतिक शिक्षा र समुदायमा सचेतनाका साथै प्राइभेट प्रोटेक्शनका लागि ऐन बनाउने तयारी भएको छ।’
कम्पनीको कर्पोरेट सामाजिक उत्तरदायित्व विभागकी प्रमुख अनुपा भण्डारी जलानले भनिन् : ‘बालबालिका र युवा साइबर अपराधको जोखिममा छन्। वर्ल्डलिंक इन्टरनेट एकेडेमीले इन्टरनेट सेफ्टिबारे पछिल्लो तीन वर्षमा १ सय ३३ विद्यालयका १० हजार विद्यार्थीलाई सुसूचित गराएको छ। साइबर बुलिङ, ह्ययाकिङ आदिबाट जोगाउने मुख्य उद्देश्य हो।’
त्यस्तै वर्ल्डलिंकका सिइओ केशव नेपालले ‘आइएसपीहरुले सूचप्रविधिको राजमार्ग बनाइरहेको र त्यहाँ चल्ने साधनमाथि निगरानी तथा नियमन राज्यको हुनुपर्ने’ बताए। सुरक्षित इन्टरनेटका लागि हरकिसिमको सहकार्य गर्न वर्ल्डलिंक तयार रहेको उनको भनाई थियो।
यसपछिका दुईवटा सत्रमा स्रोतव्यक्ति र सहभागीहरुले सक्रिय सहभागिता जनाएका थिए। पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको समूह लोकसले इन्टरनेट सुरक्षा तथा सचेतनाबारे अभियानमा वर्ल्डलिंकसँग सहकार्य गर्दै बालबालिका तथा किशोरकिशोरी मात्र नभएर अभिभावकमासमेत सचेतना आवश्यक रहेको जनाएको छ।
साइबर अपराधबाट जोगिन सतर्क रहने र परिहालेमा साइबर ब्यूरोमा उजुरी गरे कानूनी कारबाही हुने साइबर ब्यूरोका डिएसपी जनार्दन घिमिरेले जानकारी दिए। विद्यालय पाठ्यक्रममै इन्टरनेट सुरक्षालाई समेट्नुपर्ने र साइबर अपराधीमाथि कडा कारबाही हुने कानूनी व्यवस्था गर्नुपर्ने सरोकारवालाको तर्क थियो।
पहिलो सत्रमा नेपालमा डिजिटल साक्षरता र अनलाइन सुरक्षाको निर्माणस् सुरक्षित इन्टरनेटका लागि समुदायको सशक्तिकरण विषयमा अन्तरक्रिया गरिएको थियो जसमा वर्ल्डलिंककी अनुपा भण्डारी जलान, नेशनल साइबर सेक्युरिटी सेन्टरका निर्देशक राजकुमार महर्जन, सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्याल तथा साइबर सुरक्षा विज्ञ सरोज लामिछाने पेनालिष्ट रहेका थिए भने सूचनाप्रविधिसँग सम्बन्धित व्यक्तित्व र विद्यार्थीहरु
सहभागी थिए।
यसैगरी दोश्रो सत्रमा डिजिटल डिभाइड्स ब्रिजिङस् नेपालको बढ्दो परिदृश्यमा अनलाइन सुरक्षा र समावेशिता प्रवर्द्धन विषयमा भएको छलफलमा साइबर ब्यूरोका डीएसपी जनार्दन घिमिरे, काठमाडौं स्कूल अफ लका एशोसिएट प्रोफेसर कपिलराज अर्याल, युनिसेफका प्रतिनिधि प्रज्ञा शाह कार्की तथा बाल मनोवैज्ञानिक रुपा क्षेत्री प्रधान पेनलिस्टका रुपमा रहेका थिए।
प्रकाशित: ३० माघ २०८१, बुधबार