
काठमाडौं ।
१०३ जना हालका र पूर्व संघीय कर्मचारीहरूले मंगलबार दायर गरिएको नयाँ संघीय मुद्दामा ईलन मस्क र उनले चलाउने सरकारी निकाय डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डीओजीई) विरुद्ध गम्भीर आरोप लगाएका छन्। उनीहरूले बिना उचित जाँच वा स्वीकृति अत्यन्त गोप्य कर्मचारी अभिलेखहरू पहुँच गरेको दावी गरेका छन्।
न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा दायर यो मुद्दा इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेशन (ईएफएफ) र अन्य गोपनीयता समूहहरूले संघीय कर्मचारीहरूको तर्फबाट दायर गरेका हुन्। मुद्दामा सरकारको प्रमुख मानव संसाधन निकाय अफिस अफ पर्सोनेल म्यानेजमेन्ट (ओपीएम) लाई डीओजीई र यसको एजेन्टहरूको पहुँच रोक्न अनुरोध गरिएको छ।
“ओपीएम प्रतिवादीहरूले डीओजीई प्रतिवादीहरू र तिनीहरूको एजेन्टहरूलाई ओपीएम को कम्प्युटर प्रणालीमा ‘प्रशासनिक’ पहुँच दिएका थिए, जसमा धेरै जना २५ वर्ष मुनिका थिए र हाल वा अघिसम्म मस्कका निजी कम्पनीहरूमा कार्यरत थिए। तर उनीहरूले राष्ट्रिय सुरक्षासम्बन्धी कुनै कडा छानबिन प्रक्रिया पार गरेका थिएनन्,” मुद्दामा उल्लेख गरिएको छ।
मुद्दामा एलन मस्क, डीओजीई, ओपीएम, र हालका ओपीएम निर्देशक चार्ल्स इजेल प्रतिवादीका रूपमा समावेश छन्।
टेकक्रञ्चका अनुसार डीओजीईद्वारा ओपीएम को अभिलेख पहुँच गर्नु गोपनीयता नीतिको उल्लङ्घन भएको आरोप लगाइएको छ। उक्त ऐनले संघीय एजेन्सीहरूबीच व्यक्तिगत डाटाको अनधिकृत पहुँचलाई रोक्छ।
“गोपनीयता नीतिअनुसार ओपीएम प्रतिवादीहरूले डीओजीईलाई ओपीएम को करोडौं कर्मचारी अभिलेखमा पहुँच दिन पाउँदैनन्, किनभने उनीहरूसँग वैधानिक र उपयुक्त कारण छैन,” उजुरीमा उल्लेख छ। ” डीओजीई प्रतिवादीहरूलाई ओपीएम का अभिलेखमा पहुँच दिने कुनै अपवाद लागू हुँदैन।”
मुद्दाले डीओजीईका कर्मचारीहरू सरकारी कर्मचारी नभएको बेला ओपीएम नेटवर्कमा पहुँच पाएको आरोप लगाएको छ। विशेष रूपमा बिग बल्स उपनामले चिनिने १९ वर्षीय डीओजीई कर्मचारी एडवर्ड कोरिस्टिनलाई डाटा चुहावटसम्बन्धी आन्तरिक अनुसन्धानपछि साइबर सेक्युरिटी फर्मले निकालेको पनि उल्लेख गरिएको छ।
डीओजीईद्वारा संघीय कर्मचारीहरूको डाटा पहुँच गरिनु उनीहरूको पेशागत करियरका लागि हानिकारक हुन सक्ने भन्दै मुद्दामा चिन्ता व्यक्त गरिएको छ। मस्क र राष्ट्रपति ट्रम्पले आफूलाई असहयोगी मानिएका कर्मचारीहरूलाई हटाउने धम्की दिइसकेकोले, कर्मचारीहरूको वित्तीय जानकारी खुला हुनु उनीहरूलाई साइबर आक्रमण वा विदेशी गुप्तचरहरूबाट खतरा हुन सक्ने उजुरीमा भनिएको छ।
डीओजीईले संघीय सरकारभर व्यापक कटौती र सुधारको योजना अघि बढाइरहेका बेला यो मुद्दा उठाइएको हो। मुद्दा सुरूमा डीओजीईको डाटा पहुँच रोक्न अन्तरिम आदेश प्राप्त गर्ने उद्देश्यले केन्द्रित भए पनि, यो सामूहिक मुद्दा (क्लास एक्शन) दायर गर्ने पहिलो चरण मात्र रहेको वकिल मार्क लेम्लेले बताएको टेकक्रञ्चले उल्लेख गरेको छ।
डीओजीई, ओपीएम, र मस्कका कम्पनीका प्रतिनिधिहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
प्रकाशित: ३० माघ २०८१, बुधबार