काठमाडौं ।
युरोपको गोपनीयता निगरानी निकायले मंगलबार चेतावनी दिँदै सस्तो चिनियाँ एआई स्टार्टअप डीपसिकको बढ्दो लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै भविष्यमा यसले थप नियामक कारबाहीको सामना गर्न सक्ने बताएको छ।
राष्ट्रिय गोपनीयता नियामकहरूले मंगलबारको मासिक बैठकमा डीपसिकको विषयमा छलफल गरेका थिए। इटालीले व्यक्तिगत डाटा प्रयोगबारे पर्याप्त जानकारी नदिएको भन्दै यसलाई प्रतिबन्ध लगाइसकेको छ। फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, लक्जेम्बर्ग लगायत अन्य देशका नियामकहरूले डीपसिकको डाटा सङ्कलन प्रक्रियाबारे प्रश्न उठाएका छन्।
रोयटर्सले उल्लेख गरे अनुसार “धेरै डाटा संरक्षण निकायहरू (डीपीए) ले डीपसिकविरुद्ध पहिले नै कारबाही सुरु गरिसकेका छन्, र भविष्यमा थप कदम चालिन सक्छ,” युरोपियन डाटा प्रोटेक्शन बोर्ड (ईडीपीबी) का प्रवक्ताले बैठकपछि इमेलमार्फत जानकारी दिए।
यी चिन्ताहरूका कारण ईडीपीबीले अप्रिल २०२३ मा एआईसम्बन्धी नियमन प्रवर्तनमा सहकार्य र जानकारी आदानप्रदान गर्न बनाएको कार्यसमूहको कार्यक्षेत्र थप फराकिलो बनाउने निर्णय गरेको छ। यो कार्यसमूह सुरुवातमा केवल माइक्रोसफ्टद्वारा समर्थित ओपनएआईको च्याटजीपीटी मा केन्द्रित थियो।
“त्यसैगरी ईडीपीबी सदस्यहरूले तत्काल र संवेदनशील मुद्दाहरूमा डीपीएको समन्वय आवश्यक रहेको औंल्याए, जसका लागि छिटो प्रतिक्रिया दिने टोली गठन गरिनेछ,” प्रवक्ताले भने।
युरोप आफ्ना नागरिकहरूको गोपनीयता अधिकारको संरक्षणमा अग्रस्थानमा रहेको छ। सन् २०१८ मा लागू भएको यसको सामान्य डेटा संरक्षण नियम (जीडीपीआर) विश्वकै कडा गोपनीयता कानून मानिने रोयटर्सले जनाएको छ।
प्रकाशित: ३० माघ २०८१, बुधबार