नेपाल टेलिकमको नाफा ३३ प्रतिशतले घट्यो, त्रैमासिक आम्दानीमा पनि कमी

  • Technology Khabar | ३० माघ २०८१, बुधबार
नेपाल टेलिकमको नाफा ३३ प्रतिशतले घट्यो, त्रैमासिक आम्दानीमा पनि कमी
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

सरकारी स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो बर्षको तुलनामा करिब १ अर्ब रुपैयाँले कम हो।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा करिब ३३ प्रतिशतले कमी आएको छ।

कम्पनीले यस त्रैमासिक अवघिसम्म ग्राहक सेवा बापत १७ अर्ब ४९ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ रहेको थियो। कम्पनीको ग्राहक सेवा आम्दानी १.४ प्रतिशतले घटेको छ।

कम्पनीको त्रैमासिक आम्दानी घटेसँगै त्रैमासिक नाफा समेत घटेको छ। सो त्रैमासिकमा कम्पनीले ८ अर्ब ३२ करोड ४७ लाख ३९ हजार ग्राहक आम्दानी गरेको छ। तर गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब ६६ करोड १७ लाख ६ हजार रुपैयाँ थियो। विवरणअनुसार कम्पनीले दोस्रो त्रैमासिकमा ८९ करोड ५५ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ९० करोड रुपैयाँ भन्दा माथि थियो।

कम्पनीको वित्तीय आम्दानी र अन्य आम्दानी क्रमशः २ अर्ब ३० करोड ३४ लाख रुपैयाँ र १३ करोड ९७ लाख रुपैयाँ रहेको छ।

गत वर्ष १७ अर्ब २४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी अहिले घटेर १७ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ। सोअनुसार सञ्चालन आम्दानी १.४६ प्रतिशतले घटेको हो।

यसैगरी, कम्पनीको वित्तीय आम्दानी पनि ३ अर्ब ६१ करोडबाट घटेर २ अर्ब ३० करोड रुपैयाँमा झरेको छ। कम्पनीको वित्तीय आम्दानी ३६ प्रतिशतले घटेको हो। टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने २१ करोडबाट बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ रहेको छ।

पुष मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी घटेर २९.२८ रुपैयाँ कायम भएको छ।

प्रकाशित: ३० माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार